चरिकोट, दोलखा चैत्र २६गते । झट्ट हेर्दा धेरैलाई साधारण लाग्न सक्छ । सामान्य ढुङ्गाको गारो, काठ र जस्ताको छानो छाएर बनेको कुनामा अवस्थित गाईखुरा महादेव मन्दिर दोलखाको अर्को प्रसिद्ध मन्दिरको रुपमा परिचित छ ।
दोलखा मेलुङ्ग गाउँपालिका वडा नम्बर –२ सुकाठोकर स्थित यो मन्दिर हेर्दा जति साधारण लाग्छ यहाँको दर्शन गर्दा भने असाधारण फलिफाप हुने विश्वास गरिन्छ ।
यहाँ दर्शन गर्नाले आपत विपत र दुर्घटना हुनबाट जोगाउने,अकालमा मृत्यु नहुने, चिताएको कुरा पूरा हुने, विद्या खुल्ने जस्ता धार्मिक विश्वास रहिआएको छ । स्वयं उत्पन्न तीन शक्ति, एक शिला र पाँच अवतार रहेको गाईखुरा महादेव मन्दिर धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ ।
गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग र दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ ।
यो शिलामा दुई जीवित नाग बेला बेलामा घुम्ने गरेको मेलुङ –२ कुमाटे टोलका पञ्च राणा बताउनुहुन्छ । उहाँका अनुसार विशेषगरी यहाँ सोमबार, बिहिवार र शनिबार दर्शानार्थीहरु आउने गर्छन् ।
यो मन्दिरमा वेद, रुद्री, चण्डी र सवालाख बत्ती बालेर दर्शन गरेमा जुनसुकै सङ्कट परे पनि समाधान हुने, आपतविपत दुर्घटनाबाट बचाउने,अकालमा मर्नबाट जोगाउने, धन प्राप्ती हुने विश्वास रहँदै आएको छ ।
यहाँ दैनिक एक सयदेखि डेढसय सम्म भक्तजनहरु आउने गर्छ ।
तीज, शिवरात्री जस्ता पर्वमा भने पन्ध्र सय देखि दुई हजार सम्म भक्तजनहरु आउने गर्छन।
धेरै पहिले यो ठाउँमा सधै गाईले दूध दिने गरेपछि
स्थानीयहरुले खोतलेर हेर्दा गाईखुरा महादेवको शिला भेटिएको थियो । त्यसपछि गाईखुरा महादेवको पुजा गरिदै आएको स्थानीय टंक प्रसाद भण्डारी बताउनुहुन्छ ।
६० घरधुरी रहेको यहाँका स्थानीयहरुले दैनिक एकएक घर गरि आ–आफ्नो पालोमा नित्य पुजा गर्छन् । यहाँको पुजामा कमीकमजोरी भएमा बाघले दुःख दिने गरेको भण्डारीले बताउनुभयो ।
विगतदेखि नै स्थानीयवासीले सुधार र संरक्षण गर्दै आएको यो स्थानमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गरी मन्दिरलाई थप व्यवस्थित गर्न थालिएको छ । भीरालो क्षेत्रमा अवस्थित यस क्षेत्रलाई व्यवस्थित गर्न गाउँपालिका लागि परेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो। प्रचारप्रसार र पूर्वाधारका अभावका कारण मन्दिर ओझेल परेको भन्नुहँदै उहाँले मन्दिरको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर
गर्नुभयो ।
नयाँ तीर्थस्थलको रूपमा श्रद्धालु भक्तजनले रुचाएको गाईखुरा महादेव मन्दिरसम्म नै यातायात सञ्चालन भएपछि टाढा–टाढादेखि आएर रात बसेर पूजापाठ र दर्शन गरी श्रद्धालु भक्तजन फर्कने गर्दछन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here