चरिकोट । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।
सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्।
यसैबीच दोलखा सदरमुकाम चरिकोट स्थित नेकपा एमाले जिल्ला कमिटी कार्यलयमा नेकपा (एमाले) को बोर्ड राखिएको छ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नयाँ पार्टी गठन हुँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला संगठन कमिटीको बोर्ड राखिएकोमा एक हजार २७ दिन पछि पुनः नेकपा एमालेको बोर्ड राखिएको हो।
मंगलबार जिल्ला कमिटी पार्टी अध्यक्ष ईश्वर चन्द्र पोखरेलको उपस्थितिमा बोर्ड राखिएको सचिव भरत दुलालले जानकारी दिनुभयो।
२०६९ साल बैशाखमा नेकपा एमालेको ९ अौँ जिल्ला अधिवेशनले ईश्वर चन्द्र पोखरेलको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो । जिल्ला कमिटीको उपाध्यक्षमा नर बहादुर श्रेष्ठ, सचिवमा भरत दुलाल र उपसचिवमा डबल पाण्डे छन्।
जिल्लामा यसअघि पनि पुर्व एमाले एक रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले बाटो विराएकालाई पनि छाती फराकिलो पारेर स्वागत गर्ने बताउनुभयो ।
त्यसैगरी संकटमा साथ दिने माओवादी केन्द्रका सबै नेता कार्यकर्तालाई केन्द्रीय कमिटीको निर्देशन अनुसार उपयुक्त भूमिका दिने बताउनुभयो ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा जिल्ला कमिटीमा १३५ सदस्य थिए।