जीवन लामा
स्टेशन म्यानेजर, कालिञ्चोक एफएम दोलखा घरको छतबाट तार तानेर एफएम सुनेको धेरै समय बितेको छैन । बल्लबल्ल मिहिनेत गरेर तार टाँके तापनि स्पष्ट सुन्दैन थियो । कतिपय अवस्थामा त स्वाहा मात्र । अलि अलि बुझिने स्वर कारकुर गर्दा त खुशीले नाँचिन्थ्यो पनि ।
म कक्षा ७ तिर पढ्थे होला । शनिबार वस्तु चराउन वनमा जान्थे । मेरो साथमा सानो रेडियो थियो । रेडियो नेपाल खुबै बज्थ्यो । कति बेला, कुन बार के कार्यक्रम भन्ने कुरा मलाई रेडियो नेपालको कार्यक्रम प्रमुख सरहनै ठान्थे । बरु कार्यक्रम प्रमुखलाई थाहा हुँदैन थियो होला कुन बेला कुन कार्यक्रम बज्छ भनेर ।
त्यतिबेला मलाई विज्ञापन पनि कण्ठै हुन्थ्यो । रारा चाउचाउ, मुना चिया, लगाएतको विज्ञापन प्रष्टै आउथ्यो । कहिलेकाही मेरो साथमा रहेको सलाईको बट्टामा पनि आफूलाई मन पर्ने कुराहरु टिपोट गर्थे । ती टिपोट गरेका कुराहरु २०५३ मा पहिरोमा नपरेको भए मेरो सम्पत्ती र दस्तावेजको रुपमा हुन्थ्यो होला । पहिरोले धेरै कुराहरु गुमाए मैले ।
दोलखामा रेडियो खोल्नुपर्ने महशुस भयो हाम्रो टिममा ।भीम बहादुर तामाङसँग पनि सल्लाह, कुराकाानी भयो काठमाडौमा । दोलखाका धेरै नेता, समाजसेवी, उद्योपतिलगायत दोलखालीहरुसँग काठमाडौको आरआर क्याम्पसमा रेडियोको आवश्यकता र आर्थिक बारेमा छलफल भयो । कतिले उत्साह दिनुहुन्थ्यो । उर्जा थप्नुहुन्थ्यो । कतिलाई आफ्ना पोष्ट केही हुन्छ भन्ने आसाय पनि झल्किन्थ्यो । जेनतेन रेडियो बजाउनुपर्ने धारणा धेरैको थियो । जिल्लामा रेडियो रेडियो हुँदा राम्रै हुन्छ भन्ने धारणा पटक पटकको छलफलमा भयो ।
कात्तिक २१ गते अर्थात १४ वर्षअघि आजैको दिन रेडियो घन्केको । अहिले पो आफैलाई अचम्म लाग्छ के बोलेको होला, बिना तयारी किन बोलेको होला भनेर । तर, खुशी पनि लाग्छ जिल्लाको पहिलो रेडियो, पहिलो बोली दोलखालीलाई सुनाउन पाउनु । भाग्यमानी ठान्दछु आफूले आफूलाईनै । किन कि एण्टेना जडान हुनसाथ रामेछापका सरोज सुवेदी र दिपक घिमिरे दाईले ल बोल जीवन रेडियोमा । मैले पनि बल्ल बल्ल बोल्न पाएको बोले । तपाई अहिले दोलखाको पहिलो रेडियो कालिञ्चोक एफएम सुन्दै हुनुहुनुहुन्छ । तपाईलाई कस्तो लाग्यो हामीलाई फोन गर्न सक्नुहुन्छ । फोन नम्बर… । मुटु ढुकढुक भयो । गाला रातारात भयो । पसिना आउला आउला जस्तो । २,३ मिनेट बोले अनि बिसाए । मनमनै सोचे मैले के बोले, बोलेको ठीक कि बेठीक, के बोल्नु पथ्र्यो, के बोले ? धेरै प्रश्नहरु उब्जियो ।
केही महिनापछि मेरो भावना मेरो प्रतिक्रिया साहित्यिक कार्यक्रम चलाए बेलुकी ७ः३० बजेदेखि । तामाङ भाषामा समाचार वाचन गरे बिहान ८ बजे । तामाङ भाषाको कार्यक्रमहुँदै अलि दिनपछि समाचारबाहेक सबै खालका कार्यक्रमहरु सञ्चालन गरे । आत्मबल बढ्यो । कहिलेकाही शब्द उच्चारणमा कमिकजोरी भयो । कतिपय अवस्थामा विषय वस्तुको बारेमा कम ज्ञान भयो । धेरैको सल्लाह सुझाव लिए । पायो पनि । अनुभवले पनि मान्छेलाई परिपक्वता बनाउछ जस्तो लाग्न थाल्यो । रेडियो पत्रकारिता तालिमदेखि देश विदेश घुम्ने अवसर पनि पाईयो । प्रदेश नम्बर ३ (बागमती प्रदेश) को उपाध्यक्षको जिम्मेवारी पाएँ । यी मेरो व्यक्तिगत कुरा भयो । तर संस्थागत रुपमा पनि रेडियोको भूमिका छ जस्तो लाग्छ ।
वार्षिक उत्सव गाउँगाउँमा पुगेर स्थानीय तहहरुसँग समन्वय गरेर मनायौ । निशुल्क स्वास्थ्य शिविर, किसान सम्मान, श्रोता सम्मानलाई प्राथमिकता दियौ । सामान, मान्छे हराएको सूचनाहरु निःशुल्क प्रसारण गर्न थालेको वर्षौ भईसक्यो । जन्मदिन, श्रद्धाञ्जलीलगायतको पञ्जीकरणको सूचनाहरु पाँच सयमै प्रसारण गर्न थालेको वर्षौ भईसक्यो । समुदायको रेडियो भएकाले समुदायको भाषा, समुदायको समाचार, कार्यक्रमलाई प्राथमिकता दिदैं आएको छ । कतिपय सूचनाहरु निशुल्क समेत प्रसारण गरेका छौ । जसको सूचना प्रसारण गर्नुपर्ने तर आर्थिक कमजोर भएकाहरुको सूचना कहिले पैसामा हिसाब किताव गरेनौ । किसानको सूचना १५ रुपैयाँमै प्रसारण गर्यौ । कर्मचारीको मनोबल बढाउन कालिञ्चोक स्मार्ट अवार्डको व्यवस्था गर्यौ । कर्मचारी हित कोषको व्यवस्था गर्यौ । चाडपर्वमा भत्ताको व्यवस्था गर्यौ । वार्षिक वनभोज कार्यक्रमलाई निरन्तरता दियौ ।
अहिले धेरै रेडियो भईसक्यो जिल्लामा पनि । कुन श्रोताले कुन रेडियो सुन्नुपर्छ भन्ने कुरा प्रष्टै छ । कुन रेडियोलाई विज्ञापन दिनुपर्छ भन्ने कुरा पनि विज्ञापनदातालाई थाहा भईसक्यो । हामी चाहे कार्यक्रममा होस चाहे समाचारमा कहिले भेदभाव असमान व्यवहार गरेनौ । कुन ठूलो पार्टी, कुन सानो पार्टी हाम्रो समाचार कार्यक्रमले कहिल्यै छुटाएनौ । यही हाम्रो विश्वासनीयता र सफलता जस्तो लाग्छ । धेरैको रोजाईमा पर्छ जस्तो लाग्छ कालिञ्चोक एफएममा । कर्मचारीको क्षमता, योग्यता र अनुभवले पनि संस्थाको सफलता मान्नु पर्छ । सहयोगी निकायको ध्यान पनि यही गुण सम्झेको जस्तो लाग्छ । तसर्थ बीबीसी मिडिया एक्सनसँगको सहकार्य लामो समयसम्म रह्यो । हाम्रो टिम वर्कलाई विश्वास थियो उहाँलाई । गाउँ गाउँमा नागरिक बहस कार्यक्रम लिएर जाँदा हामीप्रतिको दृष्टिकोण समुदायको फरक थियो । मलाई लाग्छ गाउँ गाउँमा धेरैको मनमा नागरिक बहस भन्ने शब्द छ जस्तो लाग्छ । धेरैको आवाज यही कार्यक्रमले समेट्ने कोशिस गरेको छ । धेरैले राहत यही रेडियो कार्यक्रमबाट पाएको जस्तो लाग्छ । तसर्थ १४ वर्ष पुग्दा यही सफलताहरु मात्र सम्झिन्छु । उही शुभचिन्तक श्रोताहरुको याद आउँछ । हामीले सम्मान गर्न सकेनौ होला तर हामीप्रति धेरैको सम्मान छ । धेरैको माया छ । यसलाई जोगाउन हामीलाई गाह्रो छ । ठूलो जिम्मेवारी हाम्रो काँधमा सुम्पेको छ । यही गुणलाई जिन्दगीभर बिर्सेको छैन । तपाईको सहयोगको निरन्तर अपेक्षामा छौ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here