एजेन्सी कोरोना भाइरसको संक्रमण हुँदा कतिपयलाई ५–७ दिनमै निको हुन्छ भने कतिलाई अलि लामो समय लाग्छ। कतिपय व्यक्ति भने कोरोना नेगेटिभ रिपोर्ट आइसकेर पनि महिनौंसम्म संक्रमणकै बेलामा जस्तो लक्षण र असरबाट पीडित भइरहन्छन्। यसलाई अनुसन्धानकर्ताले लङ कोभिड अर्थात् दीर्घ कोभिड भनेका छन्।
यसै विषयमा लन्डनस्थित किङ्स कलेजका वैज्ञानिकले हालै एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका छन्। त्यसमा उनीहरूले कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचवटा भन्दा बढी लक्षण देखिएमा दीर्घ कोभिड लाग्ने खतरा हुने उल्लेख गरेका छन्।
संक्रमणको भएको प्रथम हप्ता बिरामीलाई यदि थकाइ महसुस हुने, टाउको दुख्ने, श्वास लिन कठिन हुने, आवाज गह्रौं हुने, मांसपेशी तथा शरीर दुख्नेजस्ता लक्षण देखिए  उसलाई दीर्घ कोभिड हुने संकेत मान्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ।
उनीहरूका अनुसार संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि पूर्ण रूपमा निको भएन भने  उसलाई दीर्घ कोभिड हुने जोखिम बढ्छ। कोरोनाको रिपोर्ट नेगेटिभ आइसक्दा पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरह्यो भने ती दीर्घ कोभिडका लक्षण हुन सक्छन्।
यसरी गरियो अनुसन्धान
बेलायत र स्विडेनका गरी ४० हजार संक्रमितलाई सहभागी गराई बेलायतका वैज्ञानिकले अनुसन्धान गरेका थिए। जसमध्ये २० प्रतिशत व्यक्तिले एक महिनासम्म पनि पूरा निको नभएको अनुभव सुनाएका थिए।
यसैगरी १ सय ९० जनाले ८ देखि १० हप्तासम्म लगातार कोरोना संक्रमणका लक्षण देखापरेको बताए भने सय जनाले १० हप्तासम्म पनि बिरामी महसुस भएको जानकारी गराए। यी अवस्थाले नै दीर्घ कोभिड हुन्छ भन्ने पुष्टि गरेको अनुसन्धानकर्ताको दाबी छ।
कोरोना नेगेटिभ हुनेबित्तिकै काममा सक्रिय हुन मिल्दैन
कोरोना संक्रमणबाट छुट्कारा पाउनेबित्तिकै पहिलेजस्तै दैनिक काममा सक्रिय भइहाल्न नहुने विज्ञको सुझाव छ। निको हुनेबित्तिकै सक्रिय जीवन बिताउँदा त्यसले थकान उत्पन्न गराउने र त्यो पछि गएर झन् जटिल बन्ने अनुसन्धानकर्ता बताउँछन्। बरु यस अवधिमा पोषिलो खानेकुरा सेवन गर्दै योगासन गर्ने गर्दा स्वास्थ्य बलियो हुने विज्ञले बताएका छन्। कुनै औषधि खाने गरिएको छ भने त्यसलाई नछुटाउन पनि उनीहरूको सल्लाह छ।
६४ प्रतिशत संक्रमितलाई महिनौं समस्या  
अनुसन्धान क्रममा संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत व्यक्तिलाई निकै समयसम्म कोरोना भाइरसका असर भइरहेको पाइयो। निको भएको भनिएपछि पनि श्वास लिन गाह्रो हुने, थकान, बेचैनी र डिप्रेसनजस्ता समस्या देखिएका हुन्।  
अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भएको २ देखि ३ महिनासम्म पनि असर देखिएको हो। उनीहरू भन्छन्, ‘संक्रमणमुक्त भनिएका ६४ प्रतिशत व्यक्तिमा सास लिन गाह्रो हुने तथा ५५ प्रतिशत मानिसमा थकानको समस्या देखियो।’ दैनिक भास्करबाट

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here