sdr

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा यतिखेर काठको पोल हटाएर स्टिलको खम्बा राख्ने कार्य तिब्र रुपमा अघि बढेको छ। काठको मक्किएका खम्बा फेर्ने कार्यले विद्युतीय जोखिमबाट स्थानीयले  सुरक्षित महशुस गर्नुका साथै खुसी समेत भएका छन्। तर यहीँ मौकामा खम्बा गाड्नेहरुले एक हजार र तार टाग्नेहरुले दुई हजार मागेर जनता ठगिरहेको पाइएको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर -३ चरिघ्याङ निवासी कामदोर्जे शेर्पाले दुईवटा पोल गाडेको तीन हजार रुपियाँ दिएको बताउनुभयो । “स्टिलको खम्बा गाड्दा पैसा लाग्ने भनिपछि हामी टोल बासीले पैसा उठाएर दियौं ।” उहाँले भन्नुभयो ।
त्यसैगरी खम्बामा तार टाग्दा समेत प्रति घर दुई सय रुपियाँ लिएको पाईएको छ। पुरानो पोलमा रहेको मिटर बक्ससम्म लाने केबुल तार नयाँ पोलमा टाग्नका लागि आफूले दुई सय रुपियाँ बुझाएको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिघ्याङका राम तामाङले बताउनुभयो । “कि दुई सय दिनु नभए प्राधिकरणले आएर तार जोड्छन भनेर छाडेपछि हामीले प्रतिघर बाध्य भएर दुई सय दियौं।” उहाँले भन्नुभयो । वडा नम्बर -३ मा ४० वटा पोल गाड्दा र तरा टाग्दा स्थानीय बाट घट्टिमा पनि एक लाख रुपियाँसम्म लिएको खुल्न आएको छ।
वडा नम्बर-३ को वडाअध्यक्ष हरिशरण शिवाकोटीले खम्बा गाड्नेदेखि तार टाग्ने जिम्मा ठेकेदारकै भएकाले कुनै रकम दिन नपर्ने बताउनुभयो । वडा नम्बर -३ मा ४० वटा खम्बा गाड्नेदेखि त्यसमा पुरानै तार सार्नुपर्ने काम ठेकेदारको भएकोले सबै ठेकेदारलेनै गर्नुपर्ने बतनउनुभयो।
दोलखा प्राधिकरणका प्रमुख दिपिन ढकालले खम्बाबाट सेवाग्राहीको घरघरमा लगेको केबुल तार खम्बा सार्दा छुटाएपछि जोड्ने दायित्व पनि ठेकेदार पक्षकै भएकाले त्यसमा जनता सजग हुनुपर्ने बताउनुभयो । उहाँले खम्बा गाड्ने र तार टाग्नेहरुलाई पैसा दिनुनपर्ने बताउनुभयो ।
ठेकेदार हरि बहादुर श्रेष्ठले भने खम्बा गाड्नेदेखि तार टाग्ने सबैलाई आफूले हिसाब गरेर पैसा दिने भएकाले अनावश्यक रुपमा पैसा मागेमा नदिन भन्नुभयो।
सदरमुकाम चरिकोट नजिकैको बस्तीमा पोल गाड्दा र तार टाग्दा पैसा असुल्नेहरुले जिल्लाका विकट र दुर्गमका नागरिकहरुलाई अझै बढि असुल्न सक्छ। जनताको घरआँगनमा सुरक्षित तवरले बिद्युत पुर्याउन सरकारले टेन्डर लगाएर पठाएको खम्बा गाड्न र तार टाग्न पुनः पैसा लिने प्रवृत्तिले देशमा भ्रष्टाचार र ठगी नहुँने ठाउँ भेट्टाउन मुस्किल नै हुने भएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here