कैलाश लामा
कतिपय प्राकृतिक सम्पदा लुकेका हुन्छन् । तर जब त्यसलाई देख्ने अवसर मिल्छ, सम्भवतः उनिहरु भाग्यमानी नै ठहरिन्छ।
दोलखाको वैत्यश्वर गाउँवालिका वडा नम्बर – ८ क्षेत्रपामा रहेको कालाघारी झर्ना पहिलोपटक नाङ्गो आखामा कैद हुँदा निकै नै आकर्षक थियो । देखेपछि जोकोहीको मन, मस्तिष्कले आनन्द महसुस गर्दैनन् भन्नै सकिन्न।
केही युवाहरुले यस झरनाको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरे पश्चात अहिले यो चर्चामा छ ।
वैत्यश्वर गाउँपालिका वडा नम्बर  -८ क्षेत्रपा सीतलबस्तीका स्थानीय भीम बहादुर श्रेष्ठका अनुसार कालाघारी झरना धेरै पुरानो हो। उहाँले गौरीशंकर गाउँपालिका-२ गैरी टुनीबोटे र सीतल बस्तीको सिमाना भएर बग्ने पुक्ती खोलामा अवस्थित यो झरनामा पुग्न केहि समस्य भएकाले प्रचारमा आउन नसकेको बताउनुभयो। कालिघारी झरनासंगै पुक्ती खोलामा करिब ३०० देखि ५०० मिटरको दुरीमा हात्तीढुङ्गे झरना र ठुलोढुङ्गा छहरा हरेको उहाँ बताउनुहुन्छ। तर माथिल्लो हात्ती ढुङ्गे र तल्लो ठुलोढुङ्गे झरनाको बीचमा अवस्थित कालाघारी झरना विशेष छ।
करीव ६० फिटको “कालाघारी झरना” समुन्द्र सतहदेखि १२०० मीटरको उचाइमा उत्तरतर्फ फर्किएको अवस्थामा छ। पानीको बहावले गर्दा चट्टानमा बनेको अर्धवृत्ताकार आकार अर्को आकर्षण हो।
स्थलगत अध्ययनमा कालाघारी झरना पुग्नुभएका ईन्जिनियर सुरेश राउतका अनुसार चट्टानको डिपिङ (ढल्काई) होरीजेन्टल (तेर्सो) भएको र चट्टानको प्रकृतिको कारण क्यानोनिङको लागि उपयुक्त  हुने देखिन्छ। “साहासिक पर्यटनको एक आकर्षक खेल “क्यानोनिङ” हो, जो युवामाझ अत्यन्त लोकप्रिय छ । गाँऊपालिकाले यो प्राकृतिक सम्पदालाई एक आकर्षक गन्तव्य वनाउन सक्नेमा शंका छैन्।” उहाँले भन्नुभयो, “अहिलेलाई थोरै यसको अध्ययनमा खर्च गरौ ।”
त्यसैगरी वडा अध्यक्ष रमेश अधिकारीले हालसम्म लुकेको अवस्थामा रहेको झरनालाई पर्यटन प्रवर्द्धनका लागि अगाडि बढाइने बताउनुभयो ।  झरनासम्म पुग्नका लागि सडक मार्ग र पैदल मार्ग दुवैलाई सहज बनाउने उल्लेख गर्दै उहाँले साहसिक खेलका लागि समेत अध्ययनको बाताबरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले  वैशाख,जेठको गर्मीमा झरनाको अवलोकन गर्दै  पोखरीमा पौडी खेल्न र नुहाउन समेत सकिने भएकाले झरना विशेष रहेको दावी गर्नुभयो ।
यहाँ पुग्न सदरमुकाम चरिकोटबाट सीतल बस्तीसम्म दुई घण्टाको यातायात र ४५ मिनेटको पैदलमार्ग तय गर्नुपर्ने हुन्छ।

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here