चिरञ्जीवी मास्के
म ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ सम्झिरहेको थिए । लक डाउनको यो फुर्सदीलो समयमा ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ (उपन्यास) पढ्न पाएको भए एउटा उपलब्धिनै हुने थियो– मन मनै गफिदै थिए म आफै संग ।
अनलाईनको एउटा खबरले मलाई झस्काई दियो । ७७ बर्षको उमेरमा पिटर जे. कार्थरको मृत्यु ! कार्थर उनै थिए जसले २०३४ सालको साझा पुरस्कार प्राप्त शङ्कर लामिछानेको भूमिका रहेको ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ लेखेका हुन् ।
पिटर जे. कार्थरको बाल्यकालसंग मेरो बाल्यकाल फिटिक्कै मेल खादैन । फेरि पनि एउटा समानता छ उनको र मेरो । मामा घरको पालन पोषण ।
दार्जीलिङको नोरबस्तीमा रहेको मामा घरमा पिटर जे. कार्थरको बाल्यकाल वित्यो । दार्जीलिङबाट कस्सीएर हिड्दा दुई दिनमा पुगिने नोरबस्तीले कार्थरलाई धेरैकुरा सिकाएछ । नोरबस्तीका साथीहरुसंग गोठाला र खेताला गएको परिवेशले धेरै कुराको पाठ सिकाएको हुनुपर्छ । दार्जीलिङबाट नोरबस्ती लाग्दा भेटिने पुलबजार, बिजनवारी जस्ता ठाँउले उनलाई एउटा सफल लेखक बनाउन धेरै कुरा दिएको हुनुपर्छ ।
नोरबस्ती र विजनबारीमा प्राथामीक तहको अध्यन सकेर दार्जीलिङ उक्लीएका पिटर जे. कार्थरले युवा अवस्थामै गित, सङ्गीत र साहित्यका धेरै आयामहरु पार गरिसिध्याए । तर जीवनको महत्वपूर्ण पल काठमाडौँमा विताएका कार्थरलाई काठमाडौँलेनै आफुसंग लिन गराएको छ ।
कार्थरसंगको त्यो समानता मैले दोलखाको चरिकोटमा विताए । यद्यपी म चरिकोटमै छु मामा घरकै आश्रयमा । तर त्यो बाल्यकाल अब मेरो स्मृतिमा मात्र रहेको छ । किनभने बाल्यकालको त्यो पल अब फिर्ता हुन सम्भवनै छैन । चरिकोटमा अहिले व्यक्ति, वातावरण र वस्ति समेत परिर्वतन भएको छ ।
बाल्यकालमा चरिकोटको जैकुटीमा स्कूलबाट भागेर एक्लै भाँडाकुटी खेलेर बसेको, सातदोबाटो, भालुखोला र पुशपति डाँडामा ग्याविन तारको मोटर बनाएर गुडाउदै दौडिएको, आसपासका दौतरीहरुसंग लुकामारी खेल्दै रमाएको सबै सबै स्मरणमा मात्र रहेको छ । रातभरीको हिमपातले भोलिपल्ट सखारै घरको आधा ढोकानै ढाकीएको र छानामा जमेको हिउँ हप्तौसम्म टल्कीरहेको सम्झना घोरीएर आँखा चिम्म गर्दा फल्यासब्याक जस्तै खण्ड खण्डमा स्खलित हुदै जान्छन् ।
विद्यार्थी कालमा चरिकोटमै राजेन्द्र मानन्धर, शम्भु गौतम, भोजराज न्यौपाने जस्ता सहकर्मीहरुसंग साहित्यिक प्रकाशन, छलफल र गोष्ठि तथा प्रतियोगीतामा निक्कै सक्रिय बनियो । हाम्रो साहित्यिक अभियानमा आदर्णिय गुरुहरु देवदास श्रेष्ठ (स्वर्गीय), कृष्णबहादुर गौतम, चोकबहादुर दहाल, चित्रबहादुर केसी लगायतले खुबै उत्साह भर्नु भयो र सहयोग तथा साथ दिनु भयो । २०४५/०४६ सालतिरको त्यो साहित्यिक लगावकै परिणति थियो ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे पढ्ने उत्सुकता ।
त्यसो त दार्जीलिङ पृष्ठभूमिमै लेखिएका प्रकाश कोविदको ‘देवता’, ‘अर्को जन्म’ जस्ता उपन्यासले मलाई साहित्यिक शब्द र बाक्यहरुमा लयबद्ध गरिदिएको थियो । अनि दार्जीलिङको पृष्ठभुमिमा परिचित । अहिले पनि म टिष्टा– रङ्गुल, मिरिक, घुम बस्ति, जौ बारी, सुकिया जस्ता नामसंग परिचित छु जस्तै लागि रहन्छ ।
पिटर जे. कार्थरले दार्जीलिङमै इन्द्रबहादुर राई जस्ता गुरुसंग शिक्षा लिन सके, शिवकुमार राईका उपन्यासहरु पढेर आमाले गर्नु भएको खुशीको अनुभूतिले उनलाई लेखक बनाउन प्रेरित ग¥यो । इश्वरवल्लभ, अम्बर गुरुङ जस्ता गुरुहरुबाट सङ्गीत सिक्न सकेका पिटरले रनजीत गजमेहर, प्रताप सुब्बा, अरुण थापा जस्ता सहयात्री पाउन सकेकाले पनि संगित र लेखनको राम्रो गन्तव्य पहिल्याउन भ्याए ।
उनै लेखक साहित्यकार पिटर जे. कार्थरको ‘प्रत्येक ठाँउ प्रत्येक मान्छे’ उपन्यास मैले सर्वाधि खोजिगरेको साहित्यिक कृति हो । तर अहिलेसम्म त्यो पुस्तक मैले पाउन सकेको छैन । बरु पिटर जे. कार्थरको मृत्युको खबरले मलाई कोहि परिचित मान्छे गुमाएको आभास भै रहेको छ ।
पिटर जे. कार्थरलाई मैले देखेको या भेटेको हैन । अलिक अगाडिनै सेतोपाटी अनलाईनमा उनको उपन्यास ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’को बारेमा पढेपछि उनको बारेमा जान्ने खुलदुली भने पक्कै मनमा थियो । र ‘प्रत्येक ठाँउ प्रत्येक’ मान्छे जसरी पनि पढ्ने हुँटहुँटी लागेकै हो । तर त्यो उपन्यासको खोजिमा साझा प्रकाशन देखि रत्नपार्क, पुतलिसडक र प्रर्दशनि मार्गको सबै पुस्तक पसल चाहर्दा पनि भेट्न नसक्दा स्वभाविक रुपमा निराश बढेको छ । झन पुस्तकको लेखकको मृत्युले त मनका उराठिला भावहरु गन्तव्यहिन श्रृङ्खलामा अघिबढेको भान भै रहेको छ ।
ब्रिटीस शासकले भारतको दार्जीलिङलाई सबैकुराले सम्पन्न बनाईदिएको छ । पिटर जे.कार्थरको ‘प्रत्येक ठाँउ, प्रत्येक’ मान्छे पढ्ने आकांक्षा जन्मनुको एउटा कारण दार्जीलिङको सुन्दरता पनि हो । मूल कारण भने इन्द्रबहादुर राई, अम्बर गुरुङ, गोपाल योञ्जन, सूर्य बिक्रम ज्ञवाली, धरणीधर कोईराला, पारसमणी प्रधान, डेनी डेन्जोम्पा, रणजीत गजमेहर, इश्वर बल्लभ, प्रताप सुब्बा, अरुण थापा जस्ता लेखक, साहित्यकार, गितकार, कलाकार, संगितकारलाई अद्भूत प्रतिभा प्रष्फुटीत गर्न सहयोगी बनेको थलो (दार्जीलिङ) को बारेमा जान्ने उत्सुकता नै हो ।
दार्जीलिङले नेपाली साहित्यलाई धेरै कुराहरु दिएको छ । साहित्यिक कृति, साहित्यकार, गित, संगित र त्यसका सर्जकहरु सबै दिएको छ । चिसोले कठाङ्ग्रीएर हुस्सुको हुलसंग बाफिदै दार्जीलिङमा युवावस्था विताएका धेरै सर्जकहरु कुनै न कुनै माध्यम र मनस्थितिबाट अभिप्रेरीत हुदै काठमाडौँ झरेपछि सहिद गेट र सिंहदरवार वरपर वसन्त ऋतुमा झरीसंग खुलेका बैजनी ज्याकारान्डा फुलहरुसंग साईनो गास्दै यतै भुलेका छन् ।
तिनै मध्यका एक हुन पिटर जे. कार्थर । विरगञ्ज हुदै काठमाडौँ झरेका उनले दार्जीलिङको परिवेश समेटिएको ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे,मात्र लेखेका छैनन् । काठमाडौँ परिवेश समेटिएको अंग्रेजी साहित्य पनि लेखेका छन् । र अर्को अंग्रेजी पुस्तक लेखनकै क्रममा उनको मृत्यु भएको छ ।
म उनीजस्तो लेखक बन्न सक्दिन किनभने मलाई साहित्य लेख्न आउदैन । तर म साहित्य पढ्न असाध्य धेरै रुचि राख्छु । त्यसैले म अहिले पनि ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ खोजिरहेको छु । कमसे कम त्यस भित्रको परिवेश उधिनेर एउटा असल पाठक बन्न् सकु । र पिटर जे. कार्थरलाई सार्थक सलामी र श्रदान्जली अर्पण गर्न सकु ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here