काठमाडौं । प्रधानमन्त्रीका आईटी विशेषज्ञ अस्गर अलिको समूहले सञ्चालनमा ल्याएको डिजिटल भुक्तानी माध्यम ‘ई–सेवा’मा अविश्वास बढेको छ ।
पछिल्लो समय निकै चर्चामा रहेको खरिद प्रक्रिया प्रकरण र त्यससम्बन्धी ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गरेका कारण ‘ई–सेवा’मा अविश्वास बढेको हो ।
ई–सेवामा आफ्नो रकम सुरक्षित नहुने र दुरुपयोग हुनसक्ने आशंकामा प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा ‘लेट्स अनइन्स्टल ई–सेवा’ अभियान नै चलाएका छन्, जुन अभियानले अत्यधिक मात्रामा समर्थन पाएको छ ।
सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा प्रयोगकर्ताहरूले ई–सेवाप्रतिको विश्वास गुमेको बताउँदै अनइन्स्टल गरेको बताएका छन् । उनीहरूले आफूले अनइन्स्टल गर्दै गरेको तस्वीरसहित ‘लेट्स अनइन्स्टल ई–सेवा’ लेखेका छन् ।
काठमाडौं प्रेसको समाचार साइटमा अनधिकृतरूपमा प्रवेश गरी समाचार हटाइएको प्रकरण बाहिरिएसँगै अस्गर अलीकै लगानीमा रहेको ई–सेवाले विश्वास गुमाएको हो । ई-सेवा र सिरान टेक कम्पनी एउटै सञ्चालकले चलाएका कम्पनी हुन्। त्यसमध्ये ई-सेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ । काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकलेले गरेको छ ।
यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैंले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गर्ने समुहले सेवाग्राहीको पैसा यताउता नगर्लान भन्न सकिन्न । गोप्यता कायम गर्लान भन्न सकिन्न। ई-सेवाबाट कारोबार गर्दा लुटेराहरु पछ्याउँदै घरसम्म आएर नलुट्लान भन्न सकिन्न । तसर्थ आजैदेखि इसेवा अनइन्स्टल गरे भन्दै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा अनइन्स्टल ई-सेवा अभियान संचालन गरेका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here