डा. प्रिन्स रौनियार, हाल चीनको हुबेइ प्रान्तमा मास्टर्स पढ्दै

गत डिसेम्बरको मध्यबाट चिनको वुहान प्रान्तमा सुरु भएको कोरोना भाइरस अहिले विश्वभरि महामारीको रुपमा फैलिएको छ।
श्वासप्रश्वास प्रणालीलाई प्रभावित पार्ने यो भाइरस चमेरोबाट मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अमेरिकी सीडीसीले पनि पुष्टि गरिसकेका छन्। यसको संक्रमण मानिस–मानिसबीच एयर ड्रपलेट्स (संक्रमित मानिसले हाँछ्यु गर्दा नजिकको हावामा फैलने थोपाहरु) र स्पर्शबाट फैलन्छ। कुनै स्थानमा यो भाइरस दिसामा पनि भेटिएको खबर छ। तर यो रोग हावाबाट कहिल्यै फैलन सक्दैन किनकि यस्ता किटाणु हावामा बाँच्न सक्दैनन्। यो भाइरसलाई बोक्न जीवजन्तु वा मानिस नै चाहिन्छ।
यो भाइरसको हुर्कने अवधि (इन्क्युबेसन) १४ दिन भनिएको छ। यसको अर्थ यदि एउटा स्वस्थ मानिसलाई संक्रमण भएको खण्डमा लक्षण देखिन संक्रमण भएको १ दिनदेखि १४ दिनसम्म लाग्न सक्छ। कसैले छिटो लक्षण देखाउछन् भने कसैले ढिला। यसको अर्थ कोरोना भाइरस लक्षण नदेखिएका मान्छेले पनि फैलाउन सक्ने देखियो।
अब सबैले बुझ्नुपर्छ क्वारेन्टाइन र आइसोलेसन भनेको के हो?
यदि संक्रमण फैलिएको ठाउँमा बस्दै आएका मानिस आफ्नो देश फर्किनु परे स्वदेशको स्वास्थ्य निकायले उनलाई स्वास्थ्य जाँच गरि संक्रमणको लक्षण छ–छैन भनेर हेर्छ। लक्षण नदेखिए तिनलाई यस्तो व्यवस्थित ठाउँमा राखिन्छ, जहाँ बाहिरी मान्छेसँग निकट सम्पर्क नहोस्। इन्क्युबेसन अवधि सम्मका लागि व्यक्तिलाई कडा निगरानीमा राखिन्छ। उदाहरणका लागि कोरोना भाइरसलाई लिन सकिन्छ। यसको इन्क्युबेसन अवधि १४ दिन हुन्छ। यदि वुहानबाट नेपाल फर्कने मानिसलाई विमानस्थलमा स्वास्थ्य जाँच गर्दा लक्षण नदेखिए पनि १४ दिनका लागि क्वारेन्टाइनमा निगरानीमा राखियो।
यदि यो १४ दिनमा लक्षण देखिएन भने पूर्ण रुपमा ढुक्क भएर समाजमा घुलमिल गर्ने अनुमति दिइन्छ। किनकि ती व्यक्तिमा संक्रमण भएको छैन भन्ने पुष्टि हुन्छ। तर यदि १४ दिनभित्रै संक्रमणको लक्षण देखिए तुरुन्त एउटा अस्पतालमा लगिन्छ र आइसोलेटेड वार्डमा राखिन्छ। अस्पतालमा संक्रमितलाई कसैले छुने अनुमति हुँदैन। यसलाई आइसोलेसन भनिन्छ।
अब कुरा गरौं यसको उपचारका बारेमा:
नेपालमा विज्ञले नै भन्न गरेको सुनिएको छ–चीनले नै बचाउन नसकेका बेला नेपालले कसरी बचाउन सक्छ? एउटा कुरा सबैले बुझ्नु के जरुरी छ भने संसारमै यसको सटिक उपचार कुनै देशसँग पनि छैन। हाल यसको उपचार भनेकै लक्षणअनुसार बिरामीलाई औषधि दिनु हो। यसको अर्थ ज्वरो आए सिटामोल दिने, रुघाखोकी लागे त्यसअनुरुप औषधि दिने, श्वास फेर्न गार्‍हो भने अक्सिजन दिने, निमोनिया लाग्यो भने त्यसअनुरुप औषधि दिने, आइसियुमा बिरामी राख्ने, र जरुरी परे भेन्टिलेटरमा राख्ने।
यो भाइरसको लक्षण तत्काल नदेखिन पनि सक्छ। यसको इन्क्युबेसन अवधि १४ दिनको हुन्छ। यो भाइरस ठीक हुन कम्तिमा पनि २–३ महिना लाग्न सक्छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here