चरिकोट। आजसम्म एक सय ९९ मुलुकमा महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरसको संक्रमन संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी फैलिएको छ।
चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय भएको छैन तर यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ । तथ्यांकअनुसार, मार्च २७ तारिक शुक्रबार बिहानसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८५ हजार दुई सय ६८ पुगेको छ । जुन चीनको भन्दा तीन हजार नौ सय ८३ जनाले बढी हो । चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार २ सय ८५ छ ।
नयां संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २६ तारिक बिहिवार सांझसम्ममा १५ हजार चार सय ६१ नयां केसहरु थपिएका छन् । न्यूयोर्क शहर अमेरिकामा सबैभन्दा बढी संक्रमित भएको शहर भएको छ । चीनमा संक्रमणको दर निकै कम छ । शुक्रबार बिहान चीनमा नयां संक्रमणका केस शुन्यमा झरेको छ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार, आजसम्म एक हजार दुई सय ९३ जनाले यो संक्रमणका कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् भने सबैजसो राज्यहरुमा यो भाइरसको संक्रमण फैलिइसकेको छ । भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुमा इटाली अगाडि छ । यहां ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा चार हजार तीन सय ६५ जनाको देहावसान भइसकेको छ । चीनमा भने हालसम्म ३ हजार २ सय ८७ ले ज्यान गुमाएका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here