चरिकोट । शनिबारदेखि सुरु भएको प्रथम भीमेश्वर कप वडा स्तरीय तथा प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि भीनपा ६ र आकुरा इङलिस सेकेन्डरी बोर्डिङ स्कुले हात पार्न सफल भएको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर -३  चरिघ्याङ स्थित रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स  हाउसमा वडा स्तरीय प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा भीनपा सातलाई ५-२ गोलको अन्तरमा हराउदै भीनपा ६ ले उपाधि हात पारेको हो।
त्यसैगरी आजै भएको अन्तर विद्यालय स्तरीय प्रतियोगिता अन्तर्गत भएको फाईनल खेलमा द-राईजिङ स्टार एकेडेमी ‘ए’ लाई २-१ गोलले पछि पार्दै आकुरा इङलिस सेकेन्डरी बोर्डिङ स्कुलले उपाधि हात पारेको छ।
वडा स्तरीय र अन्तर बिद्यालय स्तरीय प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमहरुलाई भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले क्रमशः २५ हजार  र १० हजार नगद सहित ट्रफी, मेडल र  प्रमाणपत्र प्रदान गर्नुभयो।
सबै वडामा खेल मैदान बनाउनेदेखि जिल्लाकै सानको रुपमा कवर्ड  हल निर्माण देखि फुटबल मैदानसम्म बनाउ नगर लागेको उल्लेख गर्दै नगर प्रमुख केसीले अब खलाडीहरु खेल मैदानकै अभावमा खेल खेल्नबाट वञ्चित हुन नपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवाहरूलाई अनुशासित र रोजगारी दिन मात्रै नभएर कुलतमा फस्नबाट समेत जोगाउने बताउनुभयो।
भीमेश्वर नगरपालिकाको आयोजना र रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स  हाउसको सहआयोजनामा भएको प्रतियोगितामा १९ टिम सहभागी थिए।
भीमेश्वर कप वडा स्तरीय खेल तर्फ नगरपालिकाका वडा नम्बर – २ बहेक अन्य आठ वडा सहभागी थिए भने अन्तर विद्यालय स्तरीय प्रतियोगिता तर्फ अलपाईन पब्लिक स्कुल, त्रिपुरा ग्लोरियस एकेडेमी, मालिञ्चोक मावि, बुढा भीमशेन मावि, आकुरा इङलिस बोर्डिङ स्कुल, कुटिडाँडाँ मावि, माउन्ट भ्येली बोर्डिङ स्कुल, मोर्डन नेपाल बोर्डिङ, सरस्वती मावी जिरी र द-राइजिङ स्टार बोर्डिङ “ए” र “बि” रहेका थिए।
खेलमा वेष्ट प्लेयर र वेस्ट किपरलाई समेत ट्रफी प्रदान गरिएको सहआयोजक एवम् फुटसल  हाउसका अध्यक्ष राजु तामाङले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, दोलखा जिल्ला खेलकुद समिति अध्यक्ष रोहित खड्का, निर्माण व्यवसायी संघ दोलखाका उपाध्यक्ष राजेश थापा, चरिघ्याङ टोल सुधार समिति अध्यक्ष दावा लामा लगाएतको उपस्थिति थियोे ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here