कैलाश लामा
चरिकोट। राजधानीबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक र दोलखा जोड्ने लामोसाँगु जिरी सडक खण्डको मुडे–चरिकोट सडक पुनः अलपत्र परेको छ । दोलखाका स्थानीयको चर्को विरोधपछि गत मंसिरको दोस्रो सातबाट पुनः काम सुरु गरेका ठेकेदार कम्पनी भारतको सकिल हैदर र नेपालको शंकर माली÷सुनौला खिम्ती जेभीले फेरी काम छोडेपछि अलपत्र परेको हो ।
दोलखाका नागरिक समाज ताथ पत्रकारसंग गत मंसिर १९ गतेको भेटघाटमा पुसको अन्तिमसम्म ३० किलोमिटर सडकमा ग्राभेल बिछ्याइ सक्ने र फागुणको दोस्रो सातबाट कालोपत्रे सुरु गरि जेठभित्र सबै काम सकाउने प्रतिबद्धता गरेका ठेकेदारले काम नै छाडेपछि सडक बन्ने अनिश्चित भएको छ ।
दुई हप्तामा भीमेश्वर नगरपालिका वडा नम्बर–७ स्थित चर्नावती खोलादेखि सदरमुकाम चरिकोटसम्म सब ग्रेड र केहि स्थानमा ग्रभेल विछ्याउने तथा कलभर्ट बनाउने काम बाहेक अन्य काम नगरेका ठेकेदारले पैसा नभएको भन्दै काम छाडेको योजना प्रमुख दिप बाराहीले जानकारी दिनुभयो । ‘यस अघि भुक्तानी नपएको भन्दै काम रोकेपछि साढे चार करोडको रनिङ बिल पास गर्यौ, अहिले फेरि पैसा सक्यो भन्दै काम छाडेका छन् ।’ उहाँले भन्नुभयो, ‘शंकरमालीका निर्देशक एवंम् जेभीका प्रतिनिधि दिपक शापकोटालाई हामीले साध्दा जग्गा बेचेर काम थल्ने भनेका छन् ।’
सिन्धुपाल्चोकको शहरे डाँडादेखि दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको काम २०१८ को मार्चमा सकाउने गरि १४ जुन २०१५ मा भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर चार वर्ष वितिसक्दा पनि सडक चौडा सहितको कालोपत्रेको काम नहुँदा जनताले सडकमा सास्ती त खेपेकै छन्, दोलखाको आर्थिक अवस्थामै गम्भिर असर पुगेको छ ।
ठेकेदारले करिब छ करोड रुपियाँ भुक्तानी नपाएको भन्दै यस अघि पनि काम रोकेका थिए । उक्त रकम मध्ये साढे चार करोड रुपियाँ मंसिरको पहिलो साता भुक्तानी गरेपनि एक महिनाको अन्तरालमा पैसा सक्यो भन्दै काम रोकेको योजना प्रमुख बाराहीले भन्नुभयो । उहाका अनुसार काम गरेबापत ठेकेदारलाई अझै पनि चार लाख रुपियाँ भुक्तानी दिन बाकि रहेको र १० प्रतिशत हर्जना बापतको ‘एलडि’ (लिक्युडिटि ड्यामेज) रकम काटिने भएकाले ठेकेदारले उक्त कामको विल पेस गरेका छैनन् ।
काममा ढिला गरेको भन्दै योजनाले गत असारदेखि ठेकेदारलाई दुई सय दिनको हर्जना स्वरुप १० प्रतिशत एलडि तिराउने निर्णयण गरेको थियो । चार करोड ५० लाख भुक्तानी दिदा पनि ३५ लाख एलडि काटिएको थियो । बारम्बार ताकेता गर्दा पनि ठेकेदारले पैसाकै समस्या देखाएकोले आर्थिक अवस्थाकै कारण पनि हालको ठेकेदारबाट काम समयमै सम्पन्न नहुने उल्लेख गर्दै योजना प्रमुख बराहीले ठेक्का तोड्ने प्रक्रिमा गइसकेकोले दुई हप्ता भित्र ठेक्का तोडिसक्ने बताउनुभयो ।
त्यसैगरी सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडे नजिकैको शहरे डाँडासम्म २५ किलोमिटर सडक नर्माणका लागि ठेक्का पाएका भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती÷सुनौला खिम्ती जेभीको कामको गति पनि सुस्त छ ।
पहिलो प्याकेज अन्तर्गतको उक्त सडक खण्डमा हालसम्म साढे १४ किलोमिटर सडक कालोपत्रे गरेको छ भने १७ किलोमिटरसम्म सबबेस र बेस बिछ्याईको छ । पहिलो प्याकेजको यो काम अक्टोबर २०१५ मा भ्याटसहित ५० करोड ७२ लाख २६ हजार ४५८ रुपियाँमा ठेक्का लगाइएको थियो । ठेक्का सम्झौता अनुसार जेभीले २०१७ को अक्टोबरसम्म काम सकाउनुपर्ने थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरि काम गर्दै आएको छ ।
भारतको एक्जीम बैंकको सहयोगमा सन २०१५ मै सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म दुई प्याकेजमा ५५ किलोमिटर सडक चौडा सहित कालोपत्रेको ठेक्का लगाइएको थियो । तर हालसम्म काम नसक्दा राजधानीबाट पुर्बका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली लगाएतका जिल्ला जोड्ने सकड अलपत्र छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here