चरिकोट । झापाको मेची पुलमा  काम लगाईदिन्छु भन्दै नेटवर्किङ व्यवसायमा जबर्जस्ती लगाउनेहरुका विरुद्ध जिल्ला प्रहरी कार्यलय दोलखामा उजुरी परेको छ।
सर्भियरको काम लगउछु भन्दै झापाको काकडभिट्टा बोलाउने र भारतको सिलगुडीको ओरेन्स ग्लोबल मार्केटिङ कम्पनीमा नेटवर्किङ व्यापार गर्नुपर्छ भन्दै एक लाख रुपियाँसम्म ठग्नेहरुको विरुद्ध जिल्ला प्रहरी कार्यलयमा उजुरी परेको हो।
दोलखाको विगु गाउँपालिका वडा नम्बर- ८ भोटेचागुका पुष्कर थामीका बुबा शुक्र थामीले सोमबार जिल्ला प्रहरी कार्यलयमा ओखलढुंगाका इन्द्रबहादुर खड्कालाई झिकाई कार्वाही गरि पाऊँ भन्दै निवेदन दिएको बताउनुभयो ।
उहाँले छोरालाई  विर्तामोडमा सर्भियरको काम लगाईदिन्छु भन्दै फकाएर सिलगुडीको महाराष्ट्र बैंक भएको भवनको चौथो तल्लामा अवस्थित ओरेन्स ग्लोबल मार्केटिङको कार्यलयमा लगि नेटवर्किङ व्यापारमा लगाउदै ठग्नेको विरुद्ध उजुरी दिएको प्रष्ट पार्नुभयो ।
नापी सामाग्री किन्नका लागि एक लाख रुपियाँ पठाएको उल्लेख गर्दै उहाँले त्यसको दुई हप्तामा छोरा पुस्कर मानसिक रोगको शिकार हुनुका साथै पैसा समेत फसाएर आएपछि ईन्द्र बहादुरको बिरुद्ध उजुरी दिएको बताउनुभयो ।
निवेदनमा सर्भियरको काम लाईदिन्छु भन्दै फकाएर एक लाख रुपियाँ लिएको र यातना दिएर मानसिक अवस्था समेत बिगारेकाले आईसल्याण्ड मल्टी एकेडेमीमा पुस्करसंगै पढेका ओखलढुंगाका इन्द्रबहादुरलाई झिकी कार्वाही तथा रकम असुल गरिपाउँ जस्ता कुराहरू उल्लेख गरिएको छ।
प्रहरीले सक्रियता बढाउने:
जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले नेटवर्किङ व्यापारमा फसाईएको भन्दै पुष्कर थामी सहित केही दोलखालीले उजुरी  दिएको प्रष्ट पार्नुभयो।
नेटवर्किङ काम नेपालमा गैरकानुनी रहेकाले यसमा आबद्ध र आबद्ध गराउन चहाने जोकोही कानुनबाट उम्कन  नसक्ने उल्लेख गर्दै उहाले सबै दोलखाका युवायुवतीलाई सजग रहन अनुरोध गर्नुभयो । उहाले ओखलढुंगाका ईन्द्र बहादुर खड्का, दोलखाका तिर्थ लामा, लगाएतको नामा उजुरी तथा गुनासो आएकाले छानवीन भइरहेको बताउनुभयो।
“नेटवर्किङ व्यवसायमा फसेका अन्यले पनि जानकारी तथा निवेदन  दिए छानवीनमा थप सजिलो हुनेछ।” उहाँले भन्नुभयो, “दोलखाबाट सय बढि युवायुवती उक्त व्यवसायमा फसेको भन्ने सुनेको छु।” उहाँले आफू फसेपनि अन्यलाई सदस्य बनाउदै नफसाउन र छानवीनमा उक्त कार्य गरेको पाइए कानुन बमोजिम कार्वाही हुने बताउनुभयो ।
सदरमुकाम चरिकोट स्थित आइसल्याण्ड मल्टी एकेडेमीमा १८ महिनासम्म संगै पढेका इन्द्रबहादुर खड्काले राम्रो तलब सुविधा सहितको जागिरको प्रस्ताव गरेपछि सिलगुडी पुगेका पुष्कर मंसिर अन्तिममा मानसिक रोगी भएर फर्केका थिए। मनोरोग चिकित्सकको निगरानीमा अौषधी सेवन गरेपछि हाल केही सन्चो भएको बुवा शुक्रले जानकारी दिनुभयो ।
यो व्यारले एकदुई जनालाई रामै फाइदा पुगेपनि अन्यको पैसा डुब्ने अवस्था रहेको पुस्करले बताए। ‘वान डी'(One D)का लागि दस हजार रुपियाँ, ‘टु डी’ (Two D) का लागि ३० हजार रुपियाँ र ‘थ्री डी’ (Three D) का लागि एक लाख रुपियाँ तिर्नुपर्ने प्रावधान कम्पनीको छ।
त्यसैगरि नेपाली रुपियाँ  एक लाख लगानी गरेकालाई  १५ देखि २० प्रतिशतको छुटमा एक लाख बराबरकै अौषधीजन्य सामाग्री कम्पनीले दिने गरेको पुस्करले  बताए ।
त्यसपछि सदस्यहरु थप्दै जाँदा प्रमोसन हुनुका साथै कमिसनमा वृद्धिदेखि कार  चढ्न पाउने र सिंगापुर, मलेसिया, थाईल्याण्ड  लगाएका  दर्जन देशमा घुम्न पाइने भनेपछि हजारौं नेपाली युवायुवती नेटवर्किङ व्यापारमा सहभागी हुन भारत जाने गरेका छन्।
फेसबुक म्यासेन्जरदेखि अन्य माध्यमबाट आफ्नै गाउँघरका साथीभाइले ठुलाठुला सपना देखएपछि पछिल्लो समय दोलखाका उत्तरी र दक्षिणी भेगका युवायुवती यो कामको लागि काम नै छोडेर सिलगुडी धाउन थालेका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here