दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर –२ स्थित प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिर अगाडि पुनर्निर्माण गरिएको ऐतिहासिक भीमेश्वर भण्डार घर । तस्बीर: कैलाश लामा ।

मिनी संग्रहालय समेत सञ्चालनमा ल्याउने

कैलाश लामा
चरिकोट (दोलखा) असोज २८ गते । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको भण्डार घर पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।भीमेश्वर नगरपालिका वडा नम्बर –२ स्थित प्राचीन नगरी दोलखामा अवस्थित ऐतिहासिक भण्डार घर २०७२ सालको भुकम्पमा भत्किएपछि पुनर्निर्माण गरिएकोमा हालै सम्पन्न भएको हो ।
भ्याट बाहेक कुल २ करोड ५७ लाख १५ हजार १०० रुपियाँ ७९ पैसामा २०७६ पुषमा सकाउने गरि २०७४ साल जेठमा धर्म एस÷तुल्सी जेभीले ठेक्का लिएका थिए । निर्धारित समय भन्दा करिब ९ महिला ढिला गरि तीन तले मौलिक भण्डार घरको पुनर्निर्माण हालै सम्पन्न भएको हो ।
निर्माण कम्पनीका प्रतिनिधि राम प्रसाद बासीले अग्राखको काठ, सोही काठबाट बनाइएको मौलिकता झल्कने बुट्टे झ्याल, ढोका, हाइली ड्रसीङ ढुङ्गा (कटिङ ढुङ्गा) प्रयोग गरि भण्डार घर निर्माण गरिएको बताउनुभयो ।
पुरातत्व विभाग अन्तर्गत र निगरानीमा बनाइएको भण्डार घरमा मुल ढोका तीन र भित्री कोठामा प्रवेश गर्ने पाँच वटा गरि जम्मा आठ वटा ढोका राखिएको छ । र ठुलो सानो गरि १४ वटा कलात्मक झ्यालहरु राखिएको छ । जसमा घरको पहिलो तल्लाको बीच भागमा मयुरको चित्र कुदिएको पुरानै झ्याल राखिएको छ । भवनको मुख्य आकर्षण भनेकै यहीँ मयुर झ्याल हो। घरको पुर्व तर्फ फर्काइएको सबैको नजर खिच्ने यो झ्याल निकै पुरानो र मौलिक रहेको स्थानीय तिर्थ नारायण जोशी बताउनुहुन्छ ।
चुना, सुर्की, बालुबाको मसला बनाएर जोडिएको कटिङ ढुङ्गाको गारो, अग्राखको काठको आकर्षक मौलिक झ्याल ढोका, चरापाटे ढुङ्गा र तेलिया विछ्याइएको भुइँ तथा ताम्रापत्रको छानाले भण्डार घर थप आकर्षक बनेको छ ।
ठेक्का आव्हान गर्दा नराखिएको र पछि ताम्रपत्रको छाना, बुट्टे झ्याल लगाएतका सामाग्रीहरु थप्नुपर्दा १४ प्रतिशत भिओ (भ्यारियसन अर्डर) बनाउदा यसको लागत बढेर २ करो ९४ लाख ८२ हजार ६ सय ३६ रुपियाँ ७९ पैसा पुगेको निर्माण कम्पनीका साईट इन्चार्ज युवाचन्द्र पराजुलीले बताउनुभयो ।
भण्डार घर निर्माणका लागि काठको लागि भक्तपुर र अन्य कामका लागि रामेछापबाट कालिगडहरु झिकाइएको थियो ।
भीमेश्वर गुठी तथा पुजा व्यवस्था समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार भण्डार घरमा भीमेश्वर मन्दिरका गरगहना तथा जिन्सी सामाग्रीहरु र अभिलेखहरु दुई साचो र तीन साचोका ढुकुटीमा राख्ने गरिन्छ । जात्रा पर्वमा प्रयोग गरिने चलन चल्तीको सामाग्री दुई साचो ढुकुटीमा र महत्वपूर्ण संग्रहीत गरगहना र अभिलेख लगाएतका सामाग्रीहरु तीन साचोको ढुकुटीमा राखिने गरिन्छ । यसको सुरक्षाका लागि भण्डार घरसंगै प्रहरी पोष्ट खडा गरि प्रहरीले सुरक्षा दिने गरिन्छ ।
दोलखा भीमेश्वर स्थापना भएपछि दोलखाका राजाहरुले परापुर्व कालदेखि सञ्चालनमा ल्याएको यो भण्डार घरमा अब मिनी संग्रहालय समेत सञ्चालनमा ल्याउने बताइएको छ । जहाँ प्रदर्शनी गर्न मिल्ने प्राचीन नगरी दोलखाका प्राचीन तथा ऐतिहासिक सामाग्रीहरु प्रदर्शनीमा राखिने भीमेश्वर गुठी तथा पुजा व्यवस्था समितिले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here