चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर -५ काटाकुटी स्थित वीरेन्द्र माध्यमिक बिद्यालय भवन निर्माण सम्पन्न भएको छ। २०७२ सालको भुकम्पले क्षति पुर्‍याएको यो भवनको पुनर्निर्माण हालै सम्पन्न भएको हो।
भ्याट बाहेक कुल ५ करोड ८३ लाखामा १४डिसेम्बर २०१८ मा सकाउने गरि १५ सेप्टेम्बर  २०१७ मा ठेकेदार कम्पनी  सुनकोसी /वल्ड वाइड जेभीले ठेक्का लिएको थियो। निर्धारित समयावधि भन्दा करिव ९ महिना ढिला गरि बनेको भवनको लागत भिओ गरी ६ करोड ४२ लाख पुगेको जेभीका प्राविधिक प्रतिनिधि प्रकाशजंग शाहले जानकारी दिनुभयो।

एसियाली बिकास बैंकको ऋण सहयोगमा बनेको यो बिद्यालय भवनको मंगलबार प्रतिनिधि सभा सांसद पार्वत गुरुङले उद्घाटन तथा हस्तान्तरण  गर्नुभएको छ। बिद्यार्थीहरुको पठनपाठनमा अब भौतिक संरचना बाधक नहुने उल्लेख गर्दै उहाँले अब गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भवन र शिक्षक दुवै उपलब्ध भएको समयमा समेत शैक्षिक गुणस्तर खस्किएमा राज्यलाई ठूलो घाटा हुने बताउनुभयो । “अब सबैले इमान्दारीका साथ जिम्मेवारी पुर्वक  काम गर्नुपर्ने भएको छ।” उहाँले भन्नुभयो, “अब देश नै समृद्धिको मार्गमा लागेकाले सबैले आआफ्नो ठाउबाट अघि बढ्न मद्दत गर्नुपर्छ।”
२०१६ सालमा स्थापन भएको वीरेन्द्र माविमा हाल तीन सय ११ बिद्यार्थीहरु छन्।  विद्यालयमा शैलुङ -५ काटाकुटी र ५ मागापौवाका विद्यार्थीहरु अध्ययनरत छन्।
नवनिर्मित दुई वटा  विद्यालय भवनमा २६ वटा कोठा छन् भने भुकम्प प्रतिरोध र चट्याङ समेत नलाग्ने गरि बनाइएको छ।
बिद्यालयमा जडान गरिएको  लाईटिङ एरेस्टर र अर्थिङले बिद्यालय भवन भित्र र आसपासको क्षेत्रमा समेत चट्याङबाट सुरक्षित राख्ने बताइएको छ।
त्यसैगरी बिद्यालयमा चर्पी र प्रशोधित खानेपानी र बैकल्पिक उर्जा सोलार समेत जडान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख देव कुमार बरालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा जिसस प्रमुख डबल पाण्डे, श‌ैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, उपाध्यक्ष लालमाया योञ्जन, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ लगाएतले मनतब्य राख्नुभएको थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here