चरिकोट । हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पार्छ भन्ने भावका साथ १८० औँ विश्व फोटोग्राफी दिवस सोमबार दोलखा सदरमुकाम चरिकोटमा पनि मनाइएको छ।
हरेक वर्ष अगस्ट १९ मा मनाउने यो दिवस दोलखा मिडिया प्रालिको आयोजनामा चरिकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइँएको हो। सदरमुकाम चरिकोटमा भएको कार्यक्रममा दोलखाका विभिन्न क्षेत्र, धर्म, संस्कृतिसंग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिएको थियो।
मिडिया प्रालिका अध्यक्ष राजेन्द्र मानन्धरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले पर्यटन वर्ष २०२० मा दोलखामा पर्यटन भित्र्याउन फोटोग्राफी महत्त्वपूर्ण बन्ने बताउनुभयो।
धार्मिक, प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर भीमेश्वर नगरपालिकालाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्द‌ै उहाँले साहसिक खेल, थामी होम स्टे, खोरथली चिडियाखाना देखि थुप्रै पार्कहरुको निर्माणमा लागेको बताउनुभयो । चरिकोट बजारमा पैदलमार्ग निर्माण सरसफाइ लगाएतका कार्यमा स्थानीयले सहयोग नगरेको गुनासो गर्दै मेयर केसीले भीमेश्वर निर्माणमा आफूले सबैको साथसहयोगको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा फोटोग्रफी मार्फत दोलखालाई सम्पूर्णमा चिनाउन सहयोग गरेको भन्दै सकृय फोटोग्राफरहरुलाई सम्मान पत्रले सम्मान गरेको छ।
गणेश बिक्रम शाही ठाकुरी, निकेश श्रेष्ठ, निमेष कायस्थ , मन्जिप कायस्थ, हिमाल थामी, प्रकाश घिसिङ,भीमसेन श्रेष्ठ  लगाएतलाई सम्मा गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, तारादल गणका गणपति प्रमुख सेनानी निखिल कुँवर, दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मान बहादुर राई, सशस्त्र प्रहरी दोलखाका सशस्त्र प्रहरी नायव उपरीक्षक किरण कुमार कठायत, पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जीवन लामा, दोलखा उद्योग वाणिाज्य संघका कार्यबाहक अध्यक्ष दिनेश थापा, फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ लगाएतको उपस्थित थियो। कार्यक्रममा ब्राइट इभन्ट म्यानेजमेन्टको तर्फबाट नृत्य समेत प्रस्तुत गरेका छन्।
यस अघि बिहान चरिकोट स्थित गौरीशंकर क्याम्प र हिम्स कलेजका बिद्यार्थीहरु माझ पनि फोटोग्राफी बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here