शरद सापकोटा
४ साउन । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्म सडक विस्तारका क्रममा भएको गतिरोध अन्त्य गरी काम सुचारु गराउने निर्णय भएको छ । सडक निर्माण कार्य रोकिनु र बर्षायाम लागेसँगै दिनानुदिन यात्रा कष्टकर भैरहेका बेला उच्चस्तरीय बैठक बसी यस्तो निर्णय गरिएको हो ।
बैठकमा सडक विभागले सिन्धुपाल्चोकको खाडीचौर देखि मुडेसम्म ठेक्का लिएर सम्पर्क बिहीन भएका ठेकेदार कम्पनीहरु सुनौलो खिम्ती र गौरी पार्वतीलाई आईतबार राष्ट्रिय पत्रिकामा ३ दिने सूचना प्रकाशन गरी तत्कालका लागि ग्राभेल बिछ्याएर र नाला कटाएर बाटो सहज गराउने र बर्षायाम लगत्तै शीघ्र कामको थालनी गराउन सूचना प्रकाशन गर्नेछ र यदि ३ दिनभित्र ती कम्पनीहरु सम्पर्कमा नआए ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रृयामा जाने निर्णय गरिएको छ । यदि ठेकेदार कम्पनी सम्पर्कमा नआए तिनलाई तिर्नुपर्ने रकमबाट नै कट्टा हुनेगरी चौथो दिनबाट सडक डिभिजन कार्यालय आफैँले काम सुरु गर्नेछ ।
भारतीय अनुदानमा निर्माण भैरहेको उक्त सडकमा एक पटकसम्म ठेक्का रद्द गर्न सकिने प्रावधान रहेको छ । यदि ठेक्का रद्द गरेकै कारण अनुदान रोक्का भएमा देशकै आन्तरिक लगानीबाट सडक निर्माण कार्य पुरा गराउने बिषयमा छलफल भएको तामाकोशी गाउपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
आज बिहान दोलखाका जनप्रतिनिधि र मन्त्रालयका अधिकारीबीच सिंहदरबारमा बसेको बैठकमा सडक निर्माणकार्य शीघ्र सम्पन्न गरी जनजीवन सहज गराउन लामो छलफल भएको हो । बैठकमा दोलखाका माननीय सांसदहरु पार्वत गुरुं, जिपछिरीं लामा, शान्ति पाख्रीन, पशुपति चौलागाई, विशाल खड्का, सरस्वती बस्नेत, पुर्व राज्य  मन्त्री देवी खड्का, जिसस प्रमुख डबल पाण्डे, भीमेश्वर नगर प्रमुख भरत केसी, तामाकोशी, मेलुं, गौरीशंकर गाउपालिकाका अध्यक्षहरु क्रमश ईश्वरचन्द्र पोखरेल, नरहादुर श्रेष्ठ, स्वयं बहादुर खड्का र सडक तथा पुर्वाधार विकास मन्त्रालयका सचिव देवेन्द्र कार्की, डिजी र डिई धर्मेन्द्र झा लगायतको उपस्थिति रहेको  थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here