चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटीमा निर्माणाधीन प्रताप स्मृति कलेज भवनको निर्माण कार्य सम्पन्न भएको छ।
सहिद रित बहादुर खड्काको स्मृतिमा ११ वर्ष अघि स्थापना गरिएको कलेजको भवन २०७२ सालको भुकम्पमा भत्किएपछि गत माघदेखि नयाँ भवन निर्माण कार्य अघि बढाइएको थियो ।
प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको ३० लाख रुपियाँमा दुई/दुई कोठाको दुई वटा भुइँ तले भवन निर्माण गरिएको क्याम्पस प्रमुख राम बहादुर खड्काले जानकारी दिनुभयो ।
रित बहादुर खड्का ‘प्रताप’को १७ अौँ स्मृति दिवसको दिन पारेर सोमबार नवनिर्मित भवनको उद्घाटन जिसस प्रमुख डबल पाण्डेले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेले रितबहादुर खड्का जस्ता थुप्रै सहिदले गर्दा न‌ै मुलुकमा जनताको शासन आउन सफल भएको बताउनुभयो। उहाँले जनप्रतिनिधिहरुले इमानदार भएर देश र जनताको सेवामा लागे मात्र  प्राप्त उपलब्धिको संस्थागत हुनुका साथै सहिदको सम्मान हुने बताउनुभयो ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्ण भुजेलको सभापतित्वमा भएको कार्यक्रममा सहिद रित बहादुरको तस्बिरमा माल्यार्पण र श्रद्धाञ्जली दिनुका साथै कलेज प्रांगणमा वृक्षरोपण गरिएको छ। कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका प्रमुख  विन कुमार थामी, विगु गाउँपालिका प्रमुख युधिष्ठीर खड्का, कालिञ्चोक ३ का  वडाअध्यक्ष निशान बुढाथोकी लगाएत कलेजका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो।
रित बहादुर खड्का दोलखाका जनयुद्धका सस्थापक नेता हुन। उहाँ तत्कालीन माओवादी केन्द्रिय सदस्यको जिम्मेवारीमा रहँदा भारतमा सम्पन्न केन्द्रिय समितिको बैठकबाट फर्किने क्रममा रौतहटको पिपरामा २०५९ साल असार २ गते साहादत भएको थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here