चरिकोट, असार १ गते । भुकम्प गएको चार बर्ष वितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ फुलपाका भूमिहीन भुकम्प प्रभावितले अझै जग्गा खरिद गर्ने आर्थिक सहयोग पाउन सकेका छैनन् ।
बर्षौदेखि साहुको जग्गामा बसोबास गर्दै आएका फुलपा स्थित स्याङकुचा,लाकपोखर र खेलापका भूमिहीन भुकम्प प्रभावितले निजी आवास पुनर्निर्माणका लागि हालसम्म पनि जग्गा खरीद सहयोग नपाएका हुन ।
आफ्नो नाममा लालपुर्जा नभएपछि निजी आवास पुनर्निर्माण गर्न समस्या परेको स्याङ्कुचाकी २५ वर्षीय भीम माया थामीले बताउनुभयो । कटेरोमा बस्दा जाडो र गर्मीमा समस्या परेको उल्लेख गर्दै उहाँले सर्प, भ्यागुतो र जंगली जनावरको समेत डर बोकेर बस्नुपरेको बताउनुभयो ।
स्याङ्कुचाकै ८४ वर्षीय मंगली थामीले अहिलेसम्म आफूहरू कटेरो मै बस्न बाध्य भएको बताउनुभयो । ‘श्रीमानले आँखा देख्दैनन्, म एक्लैले कहाँ गएर सोधखोज गर्न ु?’ उहाँले भन्नुभयो, ‘मञ्जुरी नामा पाउनेहरुले पनि घर त बनाए तर मलाई मञ्जुरी नामा दिने कोहि भएनन् , त्यसैले अहिलेसम्म भुकम्प प्रतिरोधात्मक घर बनाउन सकिएको छैन्।’
भीमेश्वर नगरपालिका वडा नम्बर –२ फुलपाका ६४ जनाले आफूहरू भूमिहीन भएको भन्दै २०७५ साल माघमा वडा कार्यलय देखि पुनर्निर्माण प्रधिकरणसम्म धाउदा पनि कुनै सहयोग नमिलेको स्थानीय युवा मोहन योगीले गुनासो गर्नुभयो ।
६४ जनामा पनि ४७ जनाको फिल्डबुकमा नाम देखिएपछि पुनर्निर्माण प्राधिकरणले १७ जनालाई मात्र भूमिहीनको सुचीमा राखेको थियो ।
भूमिहीनको सुचीमा राखिएका १७ जनाले समेत हालसम्म सहयोग पाउन नसकेको स्थानीय युवा मोहनले बताउनुभयो । उहाँका अनुसार ती १७ जनामा स्याङ्कुचाका सबैभन्दा धेरै भूमिहीन छन् ।
जग्गा किन्न कहिँकतैबाट सहयोग नपाएपछि अधिकांश भूमिहीन भुकम्प प्रभावितहरुले अहिले केहि समयमा पैसा दिने र जग्गा पास गर्ने शर्तमा गाउँका छिमेकीहरुबाट मञ्जुरी नामा लिएर घर बनाइरहेका छन् ।
तर जग्गाको मञ्जुरी नामा लिएर घर बनाउने भूमिहीनले पैसा नपाउने जानकारी पुनर्निर्माण प्राधिकरणले गरेकाले आफूहरू जीवनभर भूमिहीन नै हुने चिन्ता लागेको स्याङ्कुचाकी ५२ वर्षीया लक्ष्मी थामी बताउनुहुन्छ ।
स्याङ्कुचाका भूमिहीनले मञ्जुरी नामा लिएर घर बनाएपछि पुनर्निर्माण प्राधिकरण दोलखाले भूमिहीन भनेर केन्द्रमा सिफारिस पठाएको सुचीमा दोलखा स्याङ्कुचाका कसैको पनि नाम समावेश छैन।
कबुल गरिएको पैसा समयमा बुझाउन नसक्दा र जग्गा धनीसंग मनमुटाव हुँदा छिमेकीले जग्गाबाट घर हटाउ भन्ने सम्भावना रहेको लक्ष्मीको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको सिफारिसमा वर्षोदेखि भूमि नभएकाहरुलाई भुमि किन्न सरकारले छुट्टै दुई लाख रुपियाँसम्म दिने नीति रहेको छ।
भूमिहीनको नाममा आउने सहयोग रकम मञ्जुरी नामा दिने जग्गा धनीलाई बुझाएर लालपुर्जा आफ्नै नाममा बनाउन पाए मात्रै आफूहरुको समस्य समाधान हुने लक्ष्मी बताउनुनुहुन्छ ।
पुनर्निर्माण प्राधिकरण दोलखाका शाखा अधिकृत रिता लम्सालले मञ्जुरी नामा लिएर घर बनाएकाहरुले भूमिहीन सहुलियत नपाउने बताउनुभयो ।
घर बनेकाहरुलाई जग्गा किन्न पैसा नदिने निर्णय केन्द्रलेनै गरेको बताउदै उहाँले मञ्जुरी नामा दिने र लिनेहरुबिच विवाद बढे सिफारिस गरेर पठाउने स्थानीय निकाय स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
वडा नम्बर–२ का वडा अध्यक्ष विराजमा श्रेष्ठ स्याङ्कुचाका भूमिहीनले घर बनाउन मञ्जुरी नामा पाउँदैमा उनिहरुलाई जग्गा धनी भन्न नमिल्ने बताउनुहुन्छ।
उहाँले भूमिहीनको नामा आउने रकमबाटै हाल मञ्जुरी नामा दिएकाहरुबाट जग्गा पास गरेर दिने सर्तमा सहमति भएपनि प्रधिकरणको निर्णयले थप समस्या भएको बताउनुभयो ।
भूमिहीनले पाउने सहयोग उपलब्ध गराउन वडा कार्यलयले सबै कागजात तयार पारेर पठाएको उल्लेख गर्दै वडा अध्यक्ष श्रेष्ठले पुनर्निर्माण प्राधिकरणले उनीहरूलाई भूमिहीनको सुचीमा राखेर सहयोग उपलब्ध गर्नुपर्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here