कैलाश लामा,दोलखा जेठ १३ गते । दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने निश्चित भएको छ ।
सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा लागेका सरकारले देशभरका ७७ जिल्लामा एक सय नयाँ पर्यटकीय गन्तव्य थप्दै शैलुङ पदमार्ग समेत समावेश गरेपछि अहिले यो ठाउँको महत्व बढेको हो ।
नेपाल घुम्न चाहने पर्यटकका लागि शैलुङलाई नयाँ गन्तव्यको विकल्पको रुपमा परिचित गराउने अभियानमा लगिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँले शैलुङ जीवनमा एकपटक पुग्नै पर्ने पवित्र भूमि रहेको बताउनुभयो ।
शैलुङ डाँडाको अधिकांस भू–भाग दोलखामा पर्छ भने पश्चिम तर्फाको केहि भू–भाग रामेछापमा पर्छ । यो डाँडा अन्य भन्दा फरक भएकोले पनि नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित रहिआएको छ । यो ठाउँ समुन्द्री सतहबाट करिब तीन हाजर एक सय ४८ मिटर अग्लो स्थानमा दोलखाको दक्षिण–पश्चिममा अवस्थित छ ।
शैलुङ नाम तामाङ भाषबाट राखिएको हो । जसको अर्थ हुन्छु– ‘शै’ भनेको सय र ‘लुङ’ भएको थुम्का भन्ने बुझिन्छ । यहाँ एक सय आठ अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काहरु छन् । तर पनि जनबोलीमा यस ठाउँलाई शैलुङ भनिन्छ । शैलुङलाई प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ ।
शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल, माछापुच्छ्रे हिमाल, गणेश हिमाल, सरगमाथा लगाएत काठमाडौँ उपत्यका र चुरे पहडका थुम्काहरुसमेत देखिने भएकाले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ । शैलुङ डाँडामा भर्खरै चार तले भ्यू टावर बनाइएको छ । टावरबाट हेर्दा आसपासका प्राकृतिक दृश्यहरु झनै् राम्रो देखिन्छ । त्यसैगरि शैलुङ डाँडामा ५३ फिट अग्लो झ्याङछ्युब छ्योर्तेन निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष दुलाले बताउनुभयो । उहाँले यसले समग्र बौद्धमार्गीहरुको भावको कदर गर्ने बताउनुभयो ।
यहाँको ओडारमा रहेको प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपुर्णिमा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्ने गरेको स्थानीय ५० वर्षीय विर बहादुर तामाङले बताउनुभयो । मेलाका बखत धामी झाँक्रीहरूको बाक्लो उपस्थिति हुन्छ । यहाँ रहेको एउटा ओडारमा धर्म ढोका छ, सो ढोकाबाट पापी छिर्न सक्दैन भन्ने विश्वास पनि छ । कहिलेकाहिँ जतिसुकै मोटो मानिस पनि सहजै छिर्ने गरेको विर बहादुरले बताउनुभयो ।
प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी मेला पनि शैलुङको विशेषता हो । यहाँ रहेको ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फुल्ने गर्दछ । त्यहीँ वर्ष नै गोदावरीमा ठूलो मेला लाग्ने गर्दछ । त्यसरी गोदावरी फुल फुल्दा त्यो ओडारमा दुध जस्तो तरल पदार्थ चुहिने गर्छ । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु सधैँ नरम रहने विश्वार गरिन्छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य ६६ वर्षीय लाल बहादुर तामाङले भूगर्भविदहरुले यहाँका एक सय आठ वटै थुम्कामा खानी छन् भन्ने गरेको बताउनुभयो । उहाँले आफ्ना बाबु बाजेले १९९० सालको भूकम्पभन्दा पहिला यहाँबाट काठमाडौँको धरहरा प्रष्ट देखिन्थे भन्ने गरेको बताउनुभयो ।
त्यस्तै महयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङमायाको किम्बदन्ती अनुसार गुरु पद्म सम्भवले नेपालको उच्च तथा हिमाली शृङखलाका साथै तिब्तका वोत (झाँक्री) धर्म गुरुहरुलाई परास्त गरि बौद्ध धर्मको स्थापना गरेका थिए । त्यसपछि त्यहाँ बस्ने क्रममा धर्मचक्र राजाकी छोरीसँग विवहा गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरुसमेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउँदा मानेश्वर ल्हो (माने) शैलुङ बसेको विश्वास समेत गरिन्छ ।
त्यसैले पनि हिन्दु धर्मावलम्बी मात्र होइन, बौद्ध धार्मवलम्बीहरुले समेत ठूलो आस्थाका साथ शैलुङलाई मान्ने गरेका छन् ।
शैलुङमा बाघ, गाई र गंगटा जस्ता ढुंगाहरु छन् । डाँडाको एउटा ढुंगामा बुद्धका पाइला छन् । कालापानीबाट शैलुङ जाने बाटोमुनि डाँफेको शिलापत्र देख्न सकिन्छ । कथा अनुसार कालिञ्चोकी देवता र शैलुङे देवताबीच को अग्लो स्थानमा बस्ने भन्ने विवाद हुँदा कालिञ्चोकबाट उडाएको डाँफे शैलुङमा ठोकिएको थियो ।
शैलुङ पुग्दा स्वर्गको अनुभूति हुन्छ । गुराँस फुल्ने सिजनमा वनै राताम्मे हुन्छ । किसिम किसिमका गुराँस पाइन्छन् । माघ–फागुनमा वनै रातो देखिन्छ । वैशाख–जेठमा चाहिँ चिमाल फूल्छ । शैलुङ यतिबेला हिउँको बर्को ओढेर सुतेको हुन्छ ।
शैलुङ गाउपालिका वडा नम्बर ८ स्थित कालापानीलई शैलुङ बेसक्याम्पको रुपमा विकास गरिएको छ । कालापानीसम्मै मोटर बाटो छ । कालामनीमा अहिले १२ कोठाको सुविधा सम्पन्न सामुदायिक लज बन्दै गरेको छ । त्यसैगरि निजी लगानीमा सुविधासम्पन्न होटलहरु पनि बन्ने क्रममा रहेको छ । राजधानी काठामाडौँबाट एक सय २५ किलो मिटरको दुरी र सदरमुकाम चरिकोटबाट ४३ किलोमिटरको दुरीमा कालापानी पर्छ । त्यसपछि मनोरमा दृश्यावलन गर्दै करिब ४५ मिनेट देखि एक एक घण्टाको पैदल मार्ग हिडेपछि शैलुङ पुगिने गाउँपालिका अध्यक्ष दुलाले बताउनुभयो । उहाँले यसै बर्ष मात्र एक कारेड १० लाखको लागतमा कालापानीदेखि शैलुङ डाँडासम्म सिँढी बनाएको बताउनुभयो । सिँढीबाट हिड्नेहरुका लागि ठाउँठाउमा आकर्षक प्रतिक्षालय समेत बनाइएको छ ।
काठमाडौंबाट घुमफिरमा निस्कनेहरूले एक रात कालापानीमा बसेर अर्को दिन विहानीको झुल्के घामसंगै शैलुङ घुमेर फर्कने गरि दुई दिने योजना बनाउनु बेस हुन्छ ।
यात्राबाट फर्किंदा आलु, छुर्पी र चौंरीको घ्यू कोसेली ल्याउन बिर्सनु हुँदैन । काठमाडौंमा ‘मुडेको आलु’ प्रख्यात छ । त्यो मीठो आलु शैलुङ क्षेत्रबाट ल्याइन्छ । धुलिखेखबाट अरनिको राजमार्ग हुँदै लामोसाँगु जिरी सडक खण्डको मुडे बाजारबाट बाघखोर हुँदै करिब ५ घण्टा यात्रामा कालापानी बेसक्याम्प पुगेर बस्नु बेस हुन्छ । त्यहाँबाट करिब ४५ मिनेट एक घण्टा हिँडेमा पवित्र भूमी शैलुङ पुगिन्छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here