दोलखा। जिल्लामा भूमिहीनले पुनर्निर्माण अन्तर्गतको निजी आवास बनाउन नसकिरहेको अवस्थामा शैलुङ गाउँपालिकाकी सावित्री तामाङले भने आफ्नै जग्गामा भूकम्प प्रतिरोधी घर बनाउनुभएको छ ।
जग्गा अभावमा घर बनाउन नपाउदा केहि समय अघिसम्म पीडामा रहेकी भूमिहीन सावित्रीलाई शैलु गाउँपालिकाको पहलमा जग्गा मिलेसंगै भुकम्प प्रतिरोधी घर बनाउने अवसर मिलेको हो ।
‘देब्रे खुट्टा काटेपछि अपांग भएकी म र मेरो सुकुम्बासी परिवारलाई गाउँपालिकाले ठूलो सहयोग गरेकोमा साह्रै खुशी छौँ ।’ उहाँले भन्नुभयो, ‘घरमा अब छानो र झ्यालढोका राख्न बाकी छ, त्यसपछि नयाँ घरमा सर्नेछौँ।’
उमेरले ४५ वर्ष पुगेकी सावित्री र उनका सुकुम्बासी परिवरले जग्गा अभावमा भुकम्प प्रतिरोधात्मक घर बनाउन नसकेको खबर थाहा पाएपछि गाउँसभालेनै निर्णय गरेर उनिहरुलाई दुई रोपनी जग्गा भोगचलनका लागि दिइएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।
गाउँपालिकामा कुनैपनि नागरिकलाई भूमिहीन अवस्थामा नराख्ने योजना रहेको उल्लेख गर्दै उहाँले सावित्रीका परिवारलाई घर बनाउन र खेतीपाती गर्न समेत मिल्ने गरि वडा नम्बर ६ सदुङ टोल स्थित गंगा जमुना सामुदायिक बनको जग्गा भोगचलनका लागि प्रदान गरेको बताउनुभयो ।
चार सन्तानकी आमा सावित्री श्रीमान ५० वर्षीय वीर बहादुर तामाङसंगै गाउँघरमै ज्याला मजदुरी गर्दै आएकोमा केही वर्ष अघि बायाँ खुट्टा काटेपछि अपांग हुनुभयो । उहाँ अहिले प्लास्टिकको खुट्टाको साहेतामा सामान्य हिडडुल गर्नुहुन्छ ।
छोराहरू भर्खर बढ्दै गरेका र श्रीमान र आफूले कमाएर जग्गा जोहो गर्न नसक्ने अवस्थामा पुगेसंगै सरकारको सहयोगको निजी आवास बनाउन नसक्ने थियो कि भन्ने चिन्ता आफुमा रहेपनि अहिले हटेको सावित्रीले बताउनुभयो ।
शैलुङ दुधपोखरीबाट मजदुरीका लागि श्रीमानका हजुरबुबा भारत प्रवेश गरेसंगै जग्गा जमिन नभएका सावित्रीका परिवार १० वर्ष अघि गाउँ फर्केर अरुको घरमा बस्दै आएकोमा उक्त घर समेत ढलेपछि बनको जग्गामा कटेरो हालेर बस्दै आएका थिए । गाउँपालिका अध्यक्ष दुलालले सावित्रीका परिवारलाई दिएको जग्गा भोगचलन गर्न मिल्ने तर किनबेच गर्न नमिल्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here