लोकतन्त्रमा राष्ट्रपति र प्रधानमन्त्रीको जीवनशैली सरल हुनुपर्ने होइन ?

भोजराज न्यौपाने 
‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको पहिलो एपिसोडमा प्रधानमन्त्री केपी ओली एउटा फुटेज हेरेर भावुक बनेका थिए । तुइनबाट ओहोर दोहोर गर्दा दिवंगत नागरिक र उनीहरुको परिवारले पाएको सकसले सरकार प्रमुखलाई आँशु पुछ्न बाध्य बनाएको थियो ।
त्यो दिन मैंले अनुभव गरेको थिएँ, प्रधानमन्त्री ओली देश र नागरिकप्रति पक्कै जिम्मेवार हुनेछन् । किनभने यसअघिका कुनैपनि टेलिभिजन शोहरुमा प्रधानमन्त्री यति धेरै भावुक भएको मैले देखेको थिइँन ।
उनले पहिलोपटक प्रधानमन्त्री हुँदा एक वर्षभित्र तुइन विस्थापन गर्ने वाचा गरेका थिए । तर, उनी दोस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष भैसक्दा पनि तुइन विस्थापन हुन सकेको छैन । प्रधानमन्त्रीको वाचा सुनेका ती तुइन चढ्न वाध्य नागरिकले के भन्दै होलान ? समयमा काम पूरा नभएको भनेर मेरो देशको प्रधानमन्त्रीले जनतासँग माफी माग्नु पर्दैन ?
ओली सरकारको एक बर्ष पूरा भएको छ । एक बर्षको उपलव्धि के के भयो ? घोषणापत्रमा उल्लेख भएका के के कुरा पाए त नागरिकले ? अहिले यो बिषयको चर्चा हुनु आवश्यक छ ।
सरकारको रेडिमेड एउटै उत्तर आइरहेको छ – यो एक वर्ष संघीयताको कार्यान्वयनमा खर्च भयो । अब सरकारले बिकासको गति समात्नेछ । समातोस् बिकासको गति । हामी सबैको कामना पनि यही हो । तर कहिले ? कहाँबाट सुरु हुँदैछ ? यसको ठोस जवाफ भने संभवत ओलीसँग पनि छैन ।
जनताका अधिक सपनाहरुको चाङमा प्राथमिकता रोज्न नसकिरहेका प्रधानमन्त्री ओलीले जनताको मन जित्ने काम गर्न सकेको भए केही अखवारका पानामा नेपाल स्काउटले बधाई दिएको आफ्नै फोटो हेरेर मख्ख पर्नुपर्ने थिएन । जनताका सपनाहरु पूरा गर्ने युगान्तकारी प्रधानमन्त्रीको रुपमा उनको एक वर्षको कार्यकालमा देशभरि दीपावली हुने थियो ।
आफ्नो एक बर्षको कार्यकालको मुख्य उपलव्धि देखाउन हतार हतार पानी जहाज कार्यालयको ‘उद्घाटन’ गरे । तर, कार्यालय उद्घाटन भएको भोलिपल्टै पत्रकारहरु पुग्दा पानी जहाज कार्यालयको बोर्ड मात्रै थियो, कार्यालय थिएन । किन यति हतार भयो सरकारलाई ? कार्यालय खोलेको हल्ला फिँजाएर बोर्ड मात्रै झुण्ड्याउने कस्तो नौटङ्की हो प्रधानमन्त्रीज्यू ? अब त सिधा प्रश्न सोध्नै पर्ने भयो ।
सरकारले सुरक्षाको गफ हाँकेको धेरै भयो । प्रधानमन्त्रीज्यू, निर्मला पन्तको हत्याकाण्डको छानविन के हुँदैछ ? अरु कति निर्दोषहरुलाई पक्रेर यातना दिइँदै छ ? उपप्रधानमन्त्री इश्वर पोखरेलले अपराधी पक्राउ परिसकेको जानकारी दिएको महिनौ भयो, खै त कहाँ छन् अपराधी ? कि उपप्रधानमन्त्रीलाई कारवाही हुनु पर्यो कि अपराधी देखाउनु पर्यो  । बोल्नुस् प्रधानमन्त्रीज्यू !
नेपाल प्रहरीले समातेको ३८ किलो सुनको कथा कहाँ पुग्यो ? भटाभट न्यायाधीशमाथि कारवाही सुरु भैरहेका बेला सुन प्रकरणमा प्रहरी, गृहमन्त्रालय र प्रधानमन्त्रीको मौनता किन ? सोध्न मिल्छ नि हैन प्रधानमन्त्रीज्यू ?
डाक्टर गोविन्द केसीसँग आफैंले गरेको सम्झौता विपरित संसदबाट विधयेक पास गराएर संसदको सर्वोच्वताको गफ दिने तपाईँले वाइडवडी भ्रष्टाचार प्रकरणमा संसदको सर्वोच्वतामाथि गम्भीर प्रहार गर्दै समान्तार जाँचबुझ आयोग बनाउनु मर्यादित संसदको तेजोवध गर्ने काम होइन ? अझै त्यही जाँचबुझ आयोगका पदाधिकारीलाई नियुक्ति नै नदिएको, उनीहरुले काम नै नगरी आयोगको मिति सकिएको समाचार आइरहेका छन् । तपाईंको धारणा सोध्न मिल्छ नि हैन प्रधानमन्त्रीज्यू ?
अख्तियारका आयुक्तको भ्रष्टाचार प्रकरण चार महिनादेखि थाहा पाएर पनि यो बिषयमा गुपचूप बस्नु कुन नैतिक दायित्वभित्र पर्छ प्रधानमन्त्रीज्यू ? भ्रष्टाचारको शून्य सहनशीलता भनेको भ्रष्टाचार भएको थाहा पाएर उसैलाई सहयोग पुर्याउनु हो त ?
पूरा हुनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छ । यो दोषको जिम्मा तपाईंले लिने कि ? कसले लिने ? बर्षौदेखि काकाकुलको जीवन यापन गरिरहेका राजधानीवासीलाई खानेपानीबाट बिमुख गराउने कसको खेल हो ? जवाफ चाहियो प्रधानमन्त्रीज्यू ।
महामहिम राष्ट्रपति झापा पुगेर हेलिकोप्टरबाट किसानले काम गरेको दृश्य नियालीरहेको तस्वीर सार्वजनिक हुँदा एउटा नागरिकलाई निकै हीनतावोध हुँदो रहेछ । लोकतान्त्रिक गणतन्त्रका राष्ट्रप्रमुख राजा महाराजाकै शैलीमा हिँडे भनेर नागरिकले दुःख पोख्दा तपाईंलाई कस्तो लाग्दैछ ? लोकतन्त्रमा राष्ट्रपति र प्रधानमन्त्रीको जीवनशैली सरल हुनुपर्ने होइन ? क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रेन स्टेशनमा सर्वसाधारणसँग हात मिलाउँदै हिँड्न हुने, तपाईँलाई साइरन बजाउँदै, ट्राफिक नियम मिच्दै स्कर्टिङ गर्नु पर्ने ?
निदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले आफूले बोकेको कफि पोखिँदा आफैंले सफा गर्न हुने तपाईंहरुले विदाका दिनमा पनि सार्वजनिक यातायात चढ्ने हिम्मत गर्न नहुने ? जवाफ चाहियो प्रधानमन्त्रीज्यू । लोकतन्त्रलाई बलियो बनाउने नेताको आचरणले हो, बोली र व्यवहारले हो । अरुलाई होच्याएर आफू ठालू पल्टिँदैमा संसार मेरै मुठ्ठीमा छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ ।
हिम्मत छ ?
लोकतन्त्रमा आलोचना सहन सक्नु पर्दछ । सुधार गर्न सहयोग पुग्ने आलोचनालाई त झन् सम्मान गर्नुपर्छ नै । एकजना गायकले गाएको गीतमा आफ्ना कार्यकर्तालाई परिचालन गरेर धम्की दिन लगाउनु तपाईँ नेतृत्वको पार्टीको महाभूल हो । गायक पशुपति शर्माका गीतले जनताको बोली बोलेका छन् । तिनको सम्मान गर्नुस् । उनले उठाएका मुद्दामा सुधार गर्ने वाचा गर्नुस् । धम्की र अराजकताको भाषा धेरै सुनियो । अब आफ्नै आचरणलाई लोकतान्त्रिक बनाउनुस् प्रधानमन्त्रीज्यू ।
मञ्जुर हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here