दोलखा । प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले भरिपुर्ण सुन्दर हिमाली जिल्ला दोलखामा एकै दिन १५  हजार भन्दा बढि आन्तरीक पर्यटकको आगमन भएको छ।
प्रसिद्ध दोलखा भीमेश्वर र कालिञ्चोक भगवतीको दर्शनका साथै रमणीय प्रकृतिसंग रम्न शुक्रबार एकै दिन १५ हजार भन्दा बढी भक्तजन तथा पर्यटकहरूको आगमन भएको हो।
शुक्रबार साँझ सदरमुकाम चरिकोट बजारमा मात्रै ५ हजार भन्दा बढि पर्यटकहरूले बास मागेको थियो भने कालिञ्चोक कुरी बजारमा लगभग १० हजार पर्यटकहरुले बास मागेको होटल व्यवसायीहरु बताउछन्।
चरिकोट र कुरी बजारका होटल लज खचाखच मात्रै थिएन आवश्यकता भन्दा बढिनै पाहुनाको आगमनले कतिपयले त खुल्ला आकाशमै रात कटाएका थिए ।
चरिकोटमा सानो ठूलो गरेर झण्डै एक सय ५० वटा जति होटल रहेका छन् । सबै होटलमा गरी २८ सय देखि ३२ सयसम्म अट्न सक्ने होटल व्यवसायीहरु बतउछन् । तर शुक्रबार साझा आएका झण्डै दुई हजार पर्यटकले होटलमा बाँस नै पाएनन्।
काठमाडौबाट पहिलो पटक कालिञ्चोक घुम्न आएका  सागर सेडाइले खुल्ला आकाशमै रात बिताएको प्रष्ट पार्नुभयो। तीन जना महिलालाई चरिकोटको स्थानीयको घरमा बाँस मागेर आफू सहित १५ जनाले डिप्रोसन रिसोर्टको आँगनमा आगो तापेर रात कटाएको बताउनुभयो ।
चरिकोट स्थित होटल किङसका सञ्चालक शंकर बस्नेतले आफ्नो होटल भरिएपछि ३ सय भन्दा बढिलाई फर्काएको बताउनुभयो । उहाँले होटलको क्षमता ६० जना भएपनि ९७ जनालाई मिलाएर राखेको बताउनुभयो।
बढिमा एक हजार जनाको क्षमता रहेको कालिञ्चोक कुरीको होटलमा दस हजार भन्दा बढि पर्यटक आएपछि आगो तापेर, नाचगान गरेरै रात कटाएको एमपि होटल एण्ड लजका सञ्चालन रमेश पाख्रीनले बताउनुभयो।  “बढीमा ८० जनालाई सुताउने व्यवस्था रहेको होटलमा शुक्रबारको रात किचेन, डाइनिङमा समेत गरि १५० जनालाई भित्रै राखेका थियौं।” उहाँले भन्नुभयो।
कालिञ्चोकमा रहेको ४५ वटा होटल भरीएपछि धेरै  पर्यटकहरुले खुल्ला आकाशमुनि रात कटाएको होटल सुनपातीका कर्मचारी  सुमन बराइलीले बताउनुभयो । ६० जनालाई सुताउन सक्ने क्षमता भएको होटलमा ७५ जना सम्मलाइ मिलाएर राखेको उहाँले प्रष्ट पार्नुभयो।
स्थानीय पदम पाख्रीनका अनुसार शुक्रबार राति कालिञ्चोक कुरी बजारमा गाडी र मान्छेको भीड नै थियो। रातभर आगो ताप्ने र नाच्नेहरु प्रसस्तै थिए। होटल लज नपाएपछि अधिकांशले खाना खाएर गाडीमै सुतेको पाख्रीनले बताउनुभयो।
होटल संघ बेखबर
प्रसिद्ध धार्मिक तथा प्रकृतिक सुन्दरताले भरिपुर्ण कालिञ्चोकमा हिउँ पर्ने बित्तिकै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने कुरो आज मात्रै हैन बिगत देखिन‌ै हो। होटल र लजको व्यवस्थापन गर्दै पर्यटकहरूलाई आकर्षक ढंगले स्वागत गर्ने उद्देश्यका साथ होटल संघ गठन भएको पनि पाँच बर्ष बितिसकेको छ। तर यस्को काम कार्वाही अझैसम्म स्पस्ट छैन्। होटलमा ग्राहक ठगिएको,बस्नलाई ठाउँ नपाएको खबरहरु दिनानुदिन बाहिरिदा समेत होटल संघ दोलखा बेखबर छ। भरखरै निर्वाचित होटल संघ दोलखाका अध्यक्ष रञ्जित कुमार पाठलाई यो विषयमा कुरा राख्न खोज्दा मोबाइल र मान्छे नै सम्पर्क हुन सकेन। आन्तरिक तथा बाह्य पर्यटनहरुलाई सुचना तथा जानकारीहरु प्रदान गर्दै दोलखामा प्रवेश गर्ने हरेक पर्यटकलाई सहज बाताबरण बनाउनुपर्नेमा पाँच वर्ष बितिसक्दा पनि यस्को वैवसाइड बन्न सकेको छैन्। विश्वले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गरिरहदा सामाजिक सञ्चालन फेसबुकमा समेत यो निष्क्रिय छ।
कोषाध्यक्ष सदिप बाबू श्रेष्ठले भने सबै काम हुदैछ भन्नुभयो ।
उहाँले होटलको संख्या, कोठा शुल्क, खाना शुल्क देखि सबै होटलको बिस्तृत जानकारी सहितको विवरण संकलन भइरहेको बताउनुभयो ।
यता उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको पहलमा झण्डै पाँच सय पर्यटकलाई सुत्ने ब्यवस्था मिलेको छ। होटल संघ दोलखाका पुर्व अध्यक्ष समेत कार्की सहितका टोलीले शुक्रबार राति २ बजे सम्म अलपत्र परेका महिला, बालबालिका र बृद्धअबश्थाकाहरुलाई स्थानीयहरुको घरमा सुत्ने व्यवस्था मिलाएका थिए। कार्कीले आफ्नो घर, छिमेकी मात्रै नभइ ससुराली घरमा समेत सुत्ने व्यवस्था मिलाएको चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामाले बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here