चरिकोट (दोलखा) पुस १८ गते । दोलखाको कालिञ्चोक गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो किस्ता बापतको बजेट कार्यान्वयनमा ढिलाइ गरेको छ ।
गाउँपालिकाले बित्तिय समानिकरणतर्फ ३ करोड २९ लाख ५० हजार र सर्शत अनुदानतर्फ ४ करोड १० लाख गरी ७ करोड ३९ लाख ५० हजार बजेट निकासा लगिएकोमा हाल सम्म खर्च फाटबारी (खर्च प्रतिबेदन) पेश गर्न सकेको छैन ।
पहिलो किस्तामा लिइएको बजेट खर्च गरि दोस्रो किस्ताका लागि कात्तिक २ गतेभित्र खर्च फाडबारी कोष तथा लेखा नियन्त्रण कार्यलयमा पेश गरिसक्नुपर्ने थियो । तर तेस्रो किस्ताको लागि खर्च फाटबारी बुझ्नुपर्ने समय माघ २ नजिकिँदै गर्दापनि पहिलो किस्ताको खर्च फाटबारी बुझाउन सकेको छैन् ।
पहिलो किस्ताको रकम समयमै खर्च गर्न नसकेपछि दोस्रो किस्ता निकासा गर्न नसकिएको कोलेनिका दोलखाका प्रमुख कोष नियन्त्रक भिष्मप्रसाद न्यौपानेले बताउनुभयो ।
चालू आर्थिक बर्ष २०७५÷०६७ मा कालिञ्चोक गाउँपालिकाको लागि बित्तिय समानिकरणतर्फ १३ करोड १८ लाख र ससर्तमा १६ करोड ६५ लाख ३० हजार गरि २९ करोड ८३ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
जसअनुसार कोलेनिकाले स्थानीय सरकारलाई एक आर्थिक बर्षमा साउन २ गते पहिलो, कात्तिक २ गते दोस्रो, माघ २ गते तेस्रो र बैशाख २ गते चौथो गरि चार किस्तामा रकम निकासा गर्नुपर्ने हुन्छ । त्यसको लागि स्थानीय तहले अघिल्लो किस्ताको खर्च फाटबारी पेश गर्नुपर्ने प्राबधान छ ।
अर्थ मन्त्रालय तथा माह लेखा नियन्त्रक कार्यलयले यसै आर्थिक वर्षदेखि लागू हुने गरि खर्च फाटबारी नबुझाउने स्थानीय तहलाई रकम निकासा नदिन देशभर परिपत्र गरेको कोलेनिका प्रमुख न्यौपानेले प्रष्ट पार्नुभयो ।
यो संगै खर्च फाटबारी नबुझाएपनि दोस्रो किस्ता सहजै पाउने यसअघिको चलन हटेको छ । प्रमुख काफ्लेका अनुसार यो कामले स्थानीय तहलाई विकास निर्माणमा थप जिम्मेवार बनाउने छ ।
जिल्लाका अन्य ८ वटै स्थानीय तहले विकास र चालु बजेटको दोस्रो किस्ता लगिसकेको उल्लेख गर्दै उहाँले कालिञ्चोक गाउँपालिकाले अझै दोस्रो किस्ता लान नसक्नुले विकास निर्माणका गतिविधिमा अवरोध आउने जिकिर गर्नुभयो ।
कालिञ्चोक गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भईरहने समस्याका कारणले पनि विकास निर्माण र गाउँपालिकाको कामकारवाही प्रभावित भएको गाउँपालिकाका कर्मचारीहरुको गुनासो छ । गाउँपालिकामा १८ महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भईसकेका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here