दोलखाको विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्ले स्थित तामाकोसी नदीमा निर्माणाधीन पुलको एबुटमेन्ट ।

फुटपाथ सहित ६६ मिटर लम्बाईको एक लेनको पुल निर्माणका लागि २०६६ साल माघ १८ गते रौताहा महादेव जेभीले ठेक्का पाएको थियो।

चरिकोट (दोलखा), पुस १८ गते । कन्सल्टेन्टको गलत डिजानका कारण दोलखाको भोर्ले स्थित तामाकोसी नदीमा पुल निर्माण कार्य ‘नौ’ वर्ष देखि अलपत्र परेको छ।
नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरि भोर्ले स्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो ।
कन्सल्टेन्टले करिब १ सय ६४ टन स्टिल फेव्रिकेसनको सिफारिस गरेको थियो । दुई फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय ४ टनको हिसाव निस्किएपछि डिजाइन गलत सावित हुन आएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ ।
कन्सल्टेन्टले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटकपटक वर्कसप डिजाइन गर्दा पनि ४० टन तौल अपुग भएर अन्योल भएपछि ‘नौ’ वर्षसम्म पुल बन्न सकेको छैन् ।
फुटपाथ सहित ६६ मिटर लम्बाईको एक लेनको पुल निर्माणका लागि २०६६ साल माघ १८ गते रौताहा महादेव जेभीसंग ठेक्का सम्झौता भएको थियो ।
३ करोड ५८ लाख ७१ हजार ६१६ रुपैयाँको लागतमा २०६८ साल माघ १७ गते काम सम्पन्न हुनुपर्ने उक्त पुलको डिजाइन नमिल्दा हालसम्म पुल बन्न सकेको छैन्।
ठेकेदार कम्पनीले नदिको वारीपारी पुलको एबुटमेन्ट बनाएको ७ वर्ष वितिसक्दासमेत कार्यालयले तौल थपको टुंगो लगाउन नसकेको आरोप लगाउँदै आएको छ । रौताहा महादेव जेभीले सम्झौता अनुसार करिव एक वर्षको अवधि भित्र स्टिल ट्रस बाहेक अन्य सम्पुर्ण काम सम्पन्न गरिसकेको दाबी गरे ।
सडक डिभिजन कार्यालयले ठेकेदारलाई लगातार पुल बनाउन ताकेता गर्ने तर डिजाइन सिफारिस गर्ने कन्सल्टेन्टलाई कारबाही नगर्दा पुल अलपत्र परेको हो भन्नुहुन्छ ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि ग्याल्बो तमाङ । “पुल बनाउँदा थपिएको पुलको पाता कसले व्यहोर्ने भन्नेमै विवाद छ ।” उहाँले भन्नुभयो ।
सडक डिभिजन कार्यालय चरिकोट देखि सडक विभागको पुल महाशाखा सम्मले समस्याको समाधान गर्न नसकेपछि क्षेतिपुर्ती माग राख्दै ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा मुद्धा समेत दायर गर्यो। तर पछि कन्सल्टेन्टलाई कारबाही गरेर भेरियसन बापतको रकम भुक्तानी गर्ने सहमतिमा ठेकेदार कम्पनीले २०७४ साल पुस २८ गते मुद्दा फिर्ता लिएता पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।
“डिजाइन गलत भएकोमा कन्सल्टेन्टले पनि गल्ति स्वीकार गर्यो” कम्पनीका आधिकारिक प्रतिनिधि तमाङले भन्नुभयो, “थपिएको फलामको भुक्तानी गर्नेमै कार्यालयकै आलटालले अड्किएको छ ।”
पुलको काम सुरु हुँदा फलामे पाताको बजार मूल्य प्रति किलो एक सय ४० रुपैया थियो । तर अहिले तीन सय ४० रुपैंया पुगेको छ । यो बढेको मूल्य समेत कसले व्यहोर्ने भन्नेमा पनि विवाद उत्पन्न भएको तामाङले प्रष्ट पार्नुभयो ।
पुलको काम सुरु हुँदा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख उमेश विन्दु श्रेष्ठ हुनुहुन्थ्यो । उहाँपछि ६ जना डिई फेरिए । सबैको बचन ‘पुल जसरी पनि पुरा गर्ने’ भए तापनि कुनैले पनि पूरा गर्न सकेका छैनन् ।
सरकारको लगानीको पुल समयमा पूरा नभएपछि मार्बूको खानी खोलामा निर्माणाधिन खानी खोला १ जलविद्युत आयोजनाले आफ्नै लगानीमा ५ वर्ष अघि भोर्ले सहित ४ वटा बेलिब्रिज हालेर आफ्नो काम गरिरहेको छ ।
विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्ले पुल निर्माण हुनसके गौरीशंकर गाउँपालिका सिंगोलाई सुविधा पुग्छ । त्यस क्षेत्रमाा खानी खोला, खारे खोला, घट्टेखोला, बध गुरुम्फी खोला र तिनेखु खोलामा आधा दर्जन बढी जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । तर ७ वर्ष अघि पुलको दायाँबाँया उठाएको एबुटमेन्ट चर्कनुका साथै रडहरु खिया लागेर खाइसके पनि पुल बन्ने पत्तो छैन् ।
गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले भने समस्या तत्काल समाधान गर्दै पुल चाँडो बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी केही दिन अघि मात्रै नयाँ डिई भएर आउनुभएका धर्मेन्द्र झाले पुलको प्ररम्भिक डिजाइनमा समस्या रहेको भएपनि पछिल्लो पटक १ सय ९४ टनको भ्यारियसन अर्डर पास भइसकेको उल्लेख गर्दै सोही अनुरुप ठेकेदारले तुरुन्त काम गर्नुपर्ने बताउनुभयो । उहाँले ठेकेदार कम्पनीलाई निर्माण सामाग्रीका लागि २५ प्रतिशतसम्म मूल्य अभिवृद्धि बापतको रकममा समेत विशेष प्राथमिकता दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here