चरिकोट । दोलखाको उत्तरीपूर्वी क्षेत्रमा रहेको व्यापारीक केन्द्र सिंगटी बजार जोड्ने दोलखा–सिगँटी सडक खण्डको कमसल पिच महिना दिन नबित्दै उप्किएको छ।
हिमाली जिल्लाको भौगोलिक क्षेत्र र हावापानीमा उपयुक्त हुन नसक्दा डिबिएसटी प्रविधिको उक्त पिच सडकमा बिछ्याइएको महिना दिन नपुग्दै उप्किएको हो ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा भीमेश्वर नगरपालिकाको दोलखा बजारदेखि जिल्लाको कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका र गौरीशंकर गाउँपालिकाको व्यापारीक केन्द्र सिंगटी बजार जोड्ने सडकमा डिबिएसटी पिचको लागि मात्रै २२ करोड १२ लाख ४७ हजार ८५३ रुपैयाँमा ठेक्का लगाइएको थियो । तर सस्तोमा धेरै काम गर्ने उद्देश्यले नेपालमा असफल ओटासिल प्रविधिको पिच भन्दा केही राम्रो मानिएको डिबिएसटी पिच महिना दिनमै उप्किएपछि स्थानीयहरु चिन्तित भएका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ चाथलीका हरि बहादुर थामीले घर अगाडिको सडकमा हालेको पिच दुई हप्ता पनि टिक्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सामाग्री बोकेका टेलरले दुई हप्तामै पिच सोरेर लगेको बताउनुभयो ।
चाथलीकै विछि कुमार थामीले सडक पिच भएपनि नटिक्ने खालको भएको बताउनुभयो । “कच्ची सडकको धुलोले गाउँनै कुरुप बनाइरहेको अवस्थामा सडक पक्की भएपछि केहि सुधार होलाकी भनेको त महिना दिन पनि नटिक्ने पिचले समस्या जिउकातिउ छ ।” उहाले भन्नुभयो।
हाल दोलखा बजारदेखि सुनखानीको सिसा गोलाइसम्म साढे २१ किलोमिटर सडकमा डिबिएसटी पिच गरिएको छ ।
स्थलगत अवलोकन गर्दा गोलाई, सेपिलो ठाउँ, कजवे नजिकैको सडक र उकालोमा पिच अडिन सकेको छैन । यी ठाउँहरुमा गरेको पिच केहि समयमै उप्किन थालेपछि ठेकेदर कम्पनीले पनि उक्त स्थानमा पिच गर्नै छाडेका छन् ।
डिबिएसटी प्रविधिको पिच गर्दा हालको दर भाउअनुसार प्रति मिटर ४ सयसम्म पर्न आउँछ । तर नेपालको भौगोलिक क्षेत्र र हावापानी अनुसार जतासुकै उपयुक्त र गुणस्तरीय मानीएको प्रिमिक्स र अस्फाल्ट पिच गर्दा दोब्बर पर्न आउँछ ।
सस्तोमा धेरै सडक पिच गर्न खोज्दा काम सन्तोषजनक हुन नसकेको ठेकेदार कम्पनीका कर्मचारीहरु बताउछन् ।
हाल अडिएको पिचमा समेत थुप्रै समस्या आएको स्थानीय डिल्ली प्रसाद पकुवाल बताउनुहुन्छ । कालिञ्चोक गाउँपालिका ९ कटुवाचौरका पकुवालले गाडीले ब्रेक लगाउदा र घुमाउदा समेत पिच उप्कने गरेको बताउनुभयो ।
ठेकोदार कम्पनीका इन्जिनियर नवीन महर्जनका अनुसार डिबिएसटी पिच उपयुक्त भौगोलिक क्षेत्र, हावापानी, तापक्रम, चिप्सको साइज र विटुमिन मिलाएर गर्नुपर्ने हुन्छ । बेसको सरफेस तापक्रम कम्तिमा १८ डिग्री सेल्सियस भएपछि फस्ट लेयरमा बढिमा २५ एमएमको चिप्स र सेकेन्ड लियरमा घटिमा ८ एमएमको चिप्स विटुमिनमाथि विछ्याएर कम्प्याक्सन गरेपछि डिबिएसटी पिच पूरा भएको मानिन्छ । यसरी बनेको डिबिएसटी पिचमा एउटा एक्सेल बराबर बढिमा ८ टन लोड धन्ने क्षमताको हुन्छ । तर हाइड्रो जोन भनेर चिनिने दोलखाको उत्तरी भेगमा दैनिक एउटा एक्सेलमा ८ टन भन्दा माथिको सयौं मालबाहक गाडी चलिरहने भएकोले पनि सडकमा पिच टिक्न सकेको छैन् ।
अधिकांश समय जाडो भइरहने हिमाली जिल्लामा डिबीएसटी प्रविधिको पक्की सडक बनाउने डिजाइन नै गलत भएको जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारीराज शिवाकोटी बताउनुहुन्छ । “ठेकेदारलाई भन्ने ठाउँ छैन, उनिहरुले ठेक्का सम्झौता अनुसारको काम गरेका हुन् ।” उहाले भन्नुभयो, “सडकमा अलकत्र र चिप्स नै अडिएको छैन, जति अलकत्र र चिप्स हालेपनि के गर्नु ?”
गर्मी ठाउँका दुईचार ठाउँमा टिक्यो भन्दैमा तापक्रमनै नपुग्ने ठाउँमा डिबिएसटी प्रविधिकरको पक्कि सडक निर्माणले जनतालाई फाइदा नपुगेको उल्लेख गर्दै निर्माण व्यवसायी समेत रहेका शिवाकोटीले तुरुन्तै डिजाइन परिबर्तन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरि सडक पर्यवेक्षणको जिम्मेवारी पाएका इटेको टिएमएस जेभीका आवसिय इन्जिनियर राजेन्द्र पौड्यालले डिबिएसटी नअडिएका स्थानमा पेनम्याक र प्रमिक्स पिच गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार डिबिएसटि भन्दा राम्रो उक्त प्रविधिको पिच लगभग साढे ४ किलोमिटर सडकमा गर्नुपर्ने हुन्छ ।
कुल ७२ करोड २० लाख ५७ हजार ४४० रुपैयाँको लागतमा दुई वर्षमा काम सकाउने गरि चाइनिज कम्पनी सिआर फाइभ र नेपाली स्वच्छन्द निर्माण सेवाले सेप्टेम्बर २०१६ मा सडकको ठेक्का लिएका थिए ।
जम्मा साढे ३४ किलोमिटर सडकको कममा पाइप कल्भर्ट छेउभित्ता कटिङ, ग्यबिन तथा मेसिनरी वालहरु घटेपछि लागत रिभाइज भएर ६८ करोड ६२ लाख ७० हजार ८१० रुपैयाँमा झरेको इटेको टिएमएस जेभीका प्रमुख पौड्यालले बताउनुभयो । पछिल्लो समय १२ मार्च २०१९ मा काम सकाउने गरि म्याद थपिएको ठेकेदार कम्पनीले कटिङ, ग्याविन तथा मेसिनरी वालको काम ७५ प्रतिशत सकाएको छ भने नाला तथा कलभर्टको काम ८५ प्रतिशत सकाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here