चरिकोट (दोलखा), पुस ११ गते । निर्धारित समय भन्दा पछि धकेलिएको लामोसाँघु–चरिकोट सडक निर्माणलाई तिब्रता दिने र गुणस्तरीय बनाउने विषयमा सदरमुकाम चरकोटमा छलफल सम्पन्न भएको छ ।
लामो समयसम्म अलपत्र छाडेर केहि हप्तादेखि पुनः सुरु गरेको काम सन्तोषजनक नभएको भन्दै जिल्ला स्थित सरोकारवाला निकायहरुबिच बुधबार छलफल भएको हो ।
कार्यक्रममा सडकमा सबवेस र बेसको गुणस्तर बढाइनुपर्ने, १० दिनभित्र क्रसर सञ्चालन गरिनुपर्ने, दोस्रो प्याकेजको कामलाई चरिकोटसमेत गरि तीन ठाउँबाट सुरु गर्नुपर्ने र ठेकेदार कम्पनीकोलागि म्याद थप र भुक्तानीको बारेमा सहयोग गर्नेगरि सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यलय चरिकोटमा भएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले सडक चौडा तथा स्तरोन्नतिको कामलाई जेठ मसान्तसम्म सकिने गरि काम गराउनुपर्नेमा जोड दिनुभयो । समग्र दोलखाको भविष्यसंग जोडिएको सडक अलपत्र हुँदा जनता आजित भएको उल्लेख गर्दै पाण्डेले सडकको कामलाई थप तिब्रताका दिनुपर्ने बताउनुभयो ।
दोस्रो प्याकेजका ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि दिपक शापकोटाले तत्कालै चरिकोटबाट समेत काम सुरु गर्ने बताउनुभयो । सिन्धुपाल्चोकको ५५ किलो र दोलखाको यानमारादेखि यसअघिनै काम थालेको उल्लेख गर्दै उहाँले कामलाई सकभर छिटो सकाउने गरि काम गर्ने बताउनुभयो ।
सडकमा बिछ्याउने बेस र चिप्स तयार पार्न १० दिन भित्र क्रसर समेत सञ्चालनमा ल्याउने बताउदै कम्पनी प्रतिनिधि सापकोटाले दैनिक १६ घण्टा क्रसर चलाएर ५५ देखि ६० टिप बेस तयार पार्ने दाबी गर्नुभयो ।
सिन्धुपाल्चोकको मुडेबाट दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर र नेपालको शंकर माली र सुनौला खिम्ती जेभीले दुई वर्षमा काम सकाउने गरि ठेक्का पाएको थियो ।
भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा १४ जुन २०१५ मा ठेक्का पाएको कम्पनीले पछिल्लो पटक ४ डिसेम्बर २०१८ मा काम सम्पन्न गर्ने भन्दै म्याद थपिएकोमा उक्त म्याद सकिसकेको छ । कम्पिनका आधिकारिक प्रतिनिधि शापकोटाले भने पुनः अषाढ मसान्त सम्मको म्याद थपको निवेदन पेश गरिएको बताउनुभयो ।
त्यसैगरी भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौला खिम्ती जेभीले ठेक्का पाएको खाडीचौरदेखि मुडे नजिकैको २५ किलोमिटरसम्मको पहोलो प्याकेजको काममा भने अवरोध आएको छ ।
तीन हप्ताको अवधिमा झण्डै पाँच किलोमिटर सडकमा सबबेस बिछ्याइएको भएपनि हाल क्रसर संचालनमा स्थानीयले अवरोध गरेपछि काम रोकिन पुगेको छ । पुरानो भुक्तानी नदिएको भन्दै स्थानीय पेटी ठेकेदार लगाएतले क्रसरमा अवरोध खडा गरेपछि सबबेसको काम रोकिएको कम्पनीका साइट इन्चार्ज सुपरभाइजर कमल भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी डिभिजन सडक चरिकोटका प्रमुख धर्मेन्द्र झाले पहिलो प्याकेजको ठेकेदार कम्पनीमा थुप्रै समस्या रहेको बताउदै ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने बताउनुभयो । कम गुणस्तरको सामाग्री प्रयोग गरेको पाइएकोले पनि ठेकेदार कम्पनीले तत्काल गुणस्तरीय सामाग्री सहित काम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कम्पनीले भ्याटसहित ५० करोड ७२ लाख २६ हजार ४५८ रुपैयाँको लागतमा दुई वर्ष भित्र काम सकाउने गरि ३ जुन २०१५ मा ठेक्का पाएको थियो ।
पहिलोपटक २३ अक्टुबर २०१८ सम्म म्याद थपेर काम गरेको ठेकेदार कम्पनीलाई दोस्रो पटक फेरि २० मे २०१९ सम्म काम सकाउन पत्र दिइएको छ ।
जिल्ला प्रशासन कार्यलय चरिकोटमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सडक डिभिजन कार्यलयका डिइ धर्मेन्द्र झा, जिल्ला समन्वय अधिकारी तुलशीनाथा गौतम, भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेती, कन्सल्टेन्सी प्रमुख श्याम विक्रम खाँड र ठेकेदार कम्पनीका प्रतिनिधि लगाएतको उपस्थिति थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here