चरिकोट । फुटबलको सानो रुप ‘फुटसल’ देशभर लोकप्रिय बन्दै गइरहेको बेला हिमाली जिल्ला दोलखामा पनि फुटसल सञ्चालनमा आएको छ।
रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले भीमेश्वर नगरपालिका ३ चरिकोट चरिघ्याङमा जिल्लामै पहिलो इन्डोर मैदानको रुपमा फुटसल सञ्चालनमा ल्याएको हो।
करिब ५७ लाखको लगानीमा निर्मित फुटसलको भीमेश्वर नगरपालिकामा मेयर भरत बहादुर केसीले आइतबार उद्घाटन गर्नुभएको  छ।
२५ मिटर लम्बाइ र १५ मिटर चौडाईको मैदानमा झण्डै १५ मिनेटसम्म खेल खेल्नुभएका मेयर केसीले फुटसलले  दोलखाको खेलकुद विकासमा टेवा पुर्‍याउने दाबी गर्नुभयो।
उहाँले बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि समेत फुटसल भरपर्दो विकल्प रहेको बताउनुभयो।
फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक रहेको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ बताउनुहुन्छ।
सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ ।
पुस महिना भर विशेष छुटकाे व्यवस्था रहेको सञ्चालक राजुु तामाङले बताउनुभयो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here