भूकम्पमा ज्यान गुमाएका दोलखालीहरुको परिवारलाई समेत प्रतिव्यक्ति १५ हजारका दरले राहत वितरण गर्नुभएको थियो

चरिकोट (दोलखा), मंसिर २३ गते । दोलखाली जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य हुनुभएका सांसद जिपछिरिङ लामाले आफ्नो तलब भत्ता बापतको रकमले एम्बुलेन्स सहयोग गर्नुभएको छ । लामाले आफ्नो तलब भत्ता बापतको रकममा नपुग रकम थपेेर पाँच वटा एम्बुलेन्स खरिद गरि जिल्लाका विभिन्न स्थानीय तहलाई सहयोग गर्नुभएको हो ।
आईतबार एक कार्यक्रमका माझ जिल्लाको विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका वडा नम्बर ९, तामाकोसी गाउँपालिका वडा नम्बर ३, मेलुङ गाउँपालिका वडा नम्बर ६ र जिरी नगरपालिका वडा नम्बर १ लाई एम्बुलेन्स सहयोग प्रदान गरेको तरुण दल दोलखाका अध्यक्ष दाव शेर्पाले जानकारी दिनुभयो।
एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको खबर सुन्नुपरेकोले त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ छ । उहाँले एकै पटक १० ओटा एम्बुलेन्स ल्याउँदा भन्सारमा समस्या हुने भएकाले अबको केही महिनाभित्रै थप पाँच वटा एम्बुलेन्स ल्याएर सबै तहमा वितरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सफल निर्माण व्यवसायी समेत रहेका लामाले आफ्ना आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट सञ्चालन गर्ने गरि एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष समेत रहेका लामाले यसअघि पनि विभिन्न विद्यालय, गुम्बा र मन्दिर निर्माणमा सहयोग गर्नुका साथै भूकम्पमा ज्यान गुमाएका दोलखालीहरुको परिवारलाई समेत प्रतिव्यक्ति १५ हजारका दरले राहत वितरण गर्नुभएको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ र शान्ति पाख्रिन लगायतको सहभागिता थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here