चरिकोट (दोलख), मंसिर २१ गते । मुलुकभर चालु वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाईरहदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाहरुबाट करिव साँढे ८ सय वर्ष कैद र साँढे २ करोड भन्दा बढि जरिवाना भुक्तान गर्न अझै बाँकी रहेको पाईएको ।
२०१३ सालदेखि हत्या, डाका, चोरी, ज्यान मार्ने उद्योग लगायतका फौजदारी अभियोगमा अदालतबाट सजाय पाई फरार अभियुक्तहरुबाट कैद तथा जरिवाना असुल हुन बाकी देखिएको हो ।
जिल्लाका ४ सय २ जना अभियुक्तहरुबाट ८ सय ४३ वर्ष ६ महिना साँढे १३ दिन कैद र २ करोड ७२ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ जरिवाना भुक्तान हुन बाँकी रहेको दोलखा जिल्ला अदालतका डिठ्ठा कमल प्रसाद वस्यालले जानकारी दिनुभयो ।
अभियुक्तहरु मध्ये कैद र जरिवाना दुवै सजाय तोकिएका १ सय ६९ जना रहेका छन् भने कैद सजाय मात्रै तोकिएका ८८ र जरिवाना मात्रै तोकिएका १ सय ४५ जना रहेका छन् । अदालतबाट सबैभन्दा बढि २५ वर्षसम्मको जेल सजाय तोकिएको छ ।
गत वर्षबाट जिम्मेवारी सरिएको ६ सय ९४ वर्ष ११ महिना साँढे १२ दिन र यो वर्षको १ सय ४८ वर्ष ६ सय १ दिन गरि सो बराबरको कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ ।
अदालतमा गतवर्षबाट जिम्मेवारी सरिआएको ७ सय ७ वर्ष ८ महिना साँढे २१ दिन र चालु वर्षको नयाँ लगत १ सय ६४ वर्ष ७ महिना साँढे १७ दिन गरि कुल ८ सय ७२ वर्ष ४ महिना ९ दिन कैद भुक्तान हुन बाँकी रहेकोमा चालु वर्षको पहिलो त्रैमासिकको अवधिमा २८ वर्ष ९ महिना साँढे २५ दिन कैद भुक्तान भएको छ ।
अदालतका अनुसार गत वर्षबाट जिम्मेवारी सरि आएको मध्येबाट १२ वर्ष ९ महिना ९ दिन कैद भुक्तान भएको छ भने चालु वर्षको नयाँ लगतबाट ८ वर्ष २ महिना साँढे १९ दिन कैद भुक्तान भएको छ ।
त्यसैगरी कुल २ करोड ८० लाख ३० हजार ९ सय ५७ रुपैयाँ जरिवाना मध्ये चालु वर्ष ७ लाख ७४ हजार १३ रुपैयाँ जरिवाना असुल भएको छ । गत वर्षबाट जिम्मेवारी सरिआएको २ करोड ७१ लाख ५३ हजार ८ सय ४३ रुपैयाँ मध्य ७ लाख १ हजार ६ सय २५ र ८ लाख ७७ हजार १ सय १४ रुपैयाँ चालु वर्षको नयाँ लगतमध्य ७२ हजार ३ सय ८८ रुपैयाँ असुल भएको हो।
कतिपय अवस्थामा मान्छे फरार भएर, मृत्यु भएर तथा वेपत्ता भएका कारण पनि धेरै अगाडीदेखिको लगत फछर्याैट हुन बाँकी रहेको देखिएको दोलखा जिल्ला अदालतका न्यायधिश तेज बहादुर खडकाले जानकारी दिनुभयो ।
दोलखामा मात्रै नभई मुलुकभर अपेक्षा अनुसार लगत फछर्याैट हुन नसकेकाले कडाईका साथ असुलउपर गर्नका लागि मुलुकभर फैसला कार्यान्वयन वर्ष समेत सुरु भएको उहाँले बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here