भीमबहादुर तामाङको शालिक अनावरण

386

सुवास तामाङ
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री आदर्शपुरुष स्व भीमबहादुर तामाङको शालिक अनावरण गरिएको छ ।
भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको सक्रियतामा स्वयम्भूमा निर्माण भएको शालिकको तामाङको छैटौँ स्मृति दिवसका अवसरमा आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अनावरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष तिमल्सिनाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्व भीमबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मुलुकलाई समृद्धिको बाटोमा लगेमात्र तामाङप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।
अध्यक्ष तिमल्सिनाले संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो रहेको बताउनुभयो । “जसरी संविधान निर्माणमा दलबीच एकता देखियो त्यसरी नै कार्यान्वयनमा पनि एकता हुनु आवश्यक छ”, उहाँले भन्नुभयो । काङ्ग्रेसका सांसद जीपछिरिङ लामाले तामाङले मुलुक विकासका लागि पु¥याएको योगदानलाई सरकार र काङ्ग्रेसले बिर्सेको बताउनुभयो । “भीमबहादुर तामाङलाई सम्झनाका लागि उहाँको स्मृतिमा विभिन्न कार्यक्रमलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दोलखाका नेता वसन्त कार्कीले दोलखाको विकासमा तामाङको योगदान अतुलनीय रहेको बताउनुभयो । “दोलखावासी सबैलाई आफन्त र आफ्नो ठान्ने नेता तामाङ हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो।
काङ्ग्रेस दोलखाका पूर्वपार्टी सभापति उद्धवराज काफ्लेले तामाङले देखाएको बाटोमा हिँड्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका–१५ का वडा अध्यक्ष ईश्वरमान डङ्गोल, समाजसेवी मञ्जु लामालगायतले तामाङको सादा जीवन उच्च विचारलाई सबैले पछ्याएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा तामाङको सम्झनामा स्थापना गरिएको छोर्तेन (स्तूपा) उद्घाटनसमेत गरिएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here