कोरियाली नागरिकले दोलखाको ढुङ्गा टिपेर खल्तीमा हालेपछि

1795
तस्बिर :निकेश श्रेष्ठले

दोलखा। उमेरले पाका देखिने एक कोरियाली नागरिक माइक समाएर सिधै दर्शक दिर्घामा पुग्नुभयो । दर्शक दिर्घामा बसेका विद्यार्थीहरुमाझ उभिएर उहाँले  मैले पनि हावा, पानी, गर्मी, चिसो झेल्दै पढेको भनेर सुनाए। ‘विनाशकारी भुकम्पपछि तपाईंहरुले जसरी कटेरो र खुल्ला आकाशमा बसेर पढ्नुभएको छ मैले पनि उत्तर र दक्षिण कोरियाको युद्ध पश्चात् त्यसरी नै पढेको थिए।’ उहाँले भन्नुभयो, ‘युद्धपछि सबै विद्यालय भग्नावशेषमा परिणत भयो। झण्डै एक घण्टाको बाटो हिडेर खुल्ला आकाश र रुखको छहारीमा बसेर पढेँ । तपाईहरुलाई पनि त्यस्तै समस्य आईपरेको छ अहिले । तर नथाक्नुस राम्रोसँग पढ्नुस र ठूलो मान्छे बन्नुस।’ यति भन्दै भुइबाट एउटा ढुङ्गा टिपेर सबैलाई देखाउदै उहाँले भन्नुभयो ‘मलाई यो ढुंगा मेरो देशमा लैजाने अनुमति दिनुहोस।’ एकछिन सबै भावनात्मक अवस्थामा पुगे, त्यस पछि चारैतिर तालीको गडगडहा फैलियो । यो ढुङ्गा मेरो जीवनको अर्को इतिहास हुनेछ भन्दै उहाँले ढुङ्गालाई रुमालमा पोको पारेर खल्तीमा राख्नुभयो।
यसरी नेपाली विद्यार्थी र ढुङ्गालाई माया र सम्मान गर्ने व्यक्ति  थिए दक्षिण कोरियाली नागरिक डा. जुङ युल चोइ। उहाँ  लायन्स क्लब ईन्टरनेशनलका प्रथम उपाध्यक्ष हुन्।
लायन्स क्लब ईन्टरनेशलको आर्थिक सहयोगमा निर्मित भीम माध्यमिक बिद्यालय भवनको  समुद्घाटन तथा हस्तान्तरण गर्नका लागि उहाँ बुधबार दोलखा आउनुभएको प्रधानाध्यापक सुन्दर खड्काले जानकारी दिनुभयो ।
भुकम्प प्रतिरोधी पक्की भवनको साचो प्रधानाध्यापक खड्कालाई हस्तान्तरण गर्दै डा. चोइले भीम माध्यमिक विद्यालयलाइ सहयोग निरन्तर गर्ने प्रतिबद्ध जाहेर गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  डा. चोइले शिक्षकहरूले विद्यार्थीहरुको सिकाइ सहजीकरणमा इमानदारीपूर्वक सहयोग गर्नुपर्ने भन्नुभयो। उहाँले बिद्यालयमा अध्ययन गर्ने राम्रो बाताबरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
लायन्स क्लब ईन्टरनेशनलको आर्थिक सहयोगमा भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा सुनटोपरमा निर्मित दुईवटा भवनमा १६ वटा कोठा छन्।
कुल १ करोड ८७ लाख रुपैयाँमा बनेको विद्यालय भवन अपांग मैत्री रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो।
उहाँका अनुसार  लायन्स क्लब इन्टरनेशनलले बिद्यालयलाई एक सय जोर फर्निचर र  १६ थान  सेतोपाटी समेत प्रदान गरेको छ। त्यसै गरि अर्को चरणमा शौचालय र तार बार समेत लायन्स कल्बले नै बनाइदिने कार्यक्रम रहेको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।
२००८ सालमा स्थापित जिल्लामै तेस्रो पुरानो भीम माध्यमिक बिद्यालय २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको थियो।
प्रिसाईडिङ अफिसर रमेश अग्रवालकाे अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब मल्टिपल तथा जिल्ला तहका महत्त्वपूर्ण पदाधिकारीहरू, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, स्थानीय जनप्रतिनिधिहरु, दलीय प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठ, जिल्ला अायाेजना कार्यान्वयन इकाईका प्रमुख देव बराल, सरकारी तथा विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायतकाे उपस्थिति थियो।

भीम माविको नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै डा. जुङ युल चोइ।

 

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here