व्यारेकको लागि उचित स्थान पाएन सशस्त्रले

485

चरिकोट (दोलखा) मंसिर १० गते । दोलखा जिल्लामा स्थाई दरबन्दी लिएर आएका सशस्त्र प्रहरी बल गुल्मले उचित बसोबासको स्थान अझै पाउन सकेको छैन् ।
मुलुक संघीय ढाँचामा गएसंगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बललाई बिस्तार गर्ने योजनाअनुरुप एक सय ६० जना सशस्त्र प्रहरीको दरबन्दी सहित बिस्तार भएको सशस्त्र गुल्मलाई बसोबासको लागि उचित स्थानको अभाव भएको हो ।
राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगीक सुरक्षा र विशेषगरी उत्तरी सीमा सुरक्षाका लागि साउन १ गते दरबन्दी स्वीकृत भएर असोज १८ गतेदेखि सदरमुकाम चरिकोटमा स्थापित सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. दोलखा नम्बर १८ गुल्मलाई स्थान अभावकै कारण सुरक्षाका चुनौतीहरु समेत थपिएको छ ।
गुल्मले चरिकोट स्थित तत्कालिन महिला तथा बालबालिका कार्यलय भवन कार्यलयका लागि प्रयोग गर्दै आए पनि उक्त स्थान पर्याप्त नरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक किरण कुमार कठायतले जानकारी दिनुभयो ।
महिला तथा बालबालिका कार्यलयको लागि बनाइएको उक्त साढे दुई तले भवनमा पनि भुइँ तल्लाको एउटा हल र दोस्रो तल्लाको एउटा कोठा र एउटा भान्सा मात्रै आफुहरुले पाएको उहाँले बताउनुभयो ।
स्थानीय सरकार आएसंगै नगरपालिका तथा गाउँपालिकामा गाभिन पुगेका महिला तथा बालबालिका कार्यलयले भवनको पहिलो तल्लाको सबै कोठा स्टोर बनाएर राखेको पाइएको छ ।
त्यति मात्रै नभई शान्ति सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको सुरक्षा निकायले प्रयोग गरेको भवनको भुई तल्लामा समेत अझै सर्वसाधारणको बसोबास छ । महिला तथा बालबालिका कार्यलयको नामको मोटर साईकल र गाडि जिल्ला समन्वय समितिले लगे पनि चालकको जागिरको ढेगान नभएकोले अझै चालक परीवारले उक्त कोठा नछोडेको तत्कालिन महिला तथा बालबालिका कार्यलयका अधिकारीहरु बताउछन् ।
कार्यलय खारेजसंगै सम्पुर्ण सामान जिल्ला समन्वय समितिलाई जिम्मा लगाउन विवरण बुझाए पनि निरीक्षण तथा रुजु गर्ने काममा ढिलाई भएकोले समाग्री हटाउन नसकेको स्टोर किपर समेत रहेकी सहायक महिला विकास निरीक्षक अन्जुला सिग्देल बताउनुहुन्छ ।
रातदिन तालिम तथा परेट खेल्नुपर्ने सशस्त्रलाई पर्याप्त जमिन नभएको र सुरक्षा निकायको कार्यलयमा सर्वसाधारणको बसोबास हुनु पनि खतरा भएको नेपाल मानव अधिकार संगठन मध्यमाञ्चल संयोजक दिपशंकर चौलागाईं बताउनुहुन्छ । उहाँले हाल उपलब्ध गराएको भवन सहितको जमिन ८ सय बर्ग मिटर मात्रै रहेकोले पनि अर्ध शैन्य बल सशस्त्र प्रहरीलाई अनुपयुक्त रहेको दावी गर्नुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले भने शस्त्र प्रहरी गुल्मलाई अन्यत्र सार्ने तयारी भईरहेको बताउनुभयो ।
उहाँले संघीय संरचना कार्यान्वयन गर्ने क्रममा स्थानीय तहमा समायोजनमा परेको जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि ३ हजार ६ सय २४ वर्ग मिटरमा फैलिएको कार्यलयको नामको जग्गामा सशस्त्र प्रहरी गुल्मलाई सार्ने तयारी भईरहेको जानकारी दिनुभयो । “कृषि विकास कार्यलयको भवनम हाल किवि जोनको कार्यलय स्थापन गरिएको भए पनि अहिले सशस्त्र प्रहरी गुल्मले प्रयोग गरेको महिला तथा बालबालिका कार्यलयलको भवनमा किवि जोन कार्यलय सार्ने योजना छ,” उहाँले भन्नुभयो । संघीय मन्त्रालय स्तरमै काम कुरो छिनोफानो भएर आउनुपर्ने भएकोले पनि समस्य उत्पन्न भएको प्रजिअ पाठकको दावी छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here