विदेशी भूमिबाट मेयरलाई खुल्ला पत्र

2338

आदरणीय मेयर ज्यू
भीमेश्वर नगरपालीका,दोलखा  
विदेशी भुमिबाट नमस्कार !
गौरीशंकर हिमालको काखमा, कालिञ्चोक भगवती, दोलखा भिमसेन र महाँकाल भगवती जस्ता अनगिन्ति देबि देवताहरुको पबित्र भूमिको माझमा अवस्थित सुन्दर पर्यटकिय हाम्रो भिमेश्वर नगरपालिका र यो नगरपालिकाको प्रमुख पदको पदिय दायित्व बोकेर भिमेश्वर नगरपालिकालाई राष्ट्रभरि नै समुन्नत नगर बनाउछु भनेर कम्मर कसेर लाग्नु भएको तपाई मेयर ज्यू! तपाईलाई म आत्मा देखिनै श्रद्धा गर्छु । म जस्ता धेरै युवाहरुले तपाईलाई श्रद्धा गर्छन । तपाई प्रति हाम्रो धेरै आशा र भरोसा छ । तपाईको विशेषज्ञता, कार्यक्षमता, समन्वयकारी भुमिका र सुन्दर व्यक्तित्वले पक्कै पनि भिमेश्वर नगरीलाई समून्नतीको गन्तव्यमा पुर्याउछ भन्ने कुरामा म लगायत सम्पुर्ण भिमेश्वरवासीहरु तपाई प्रति विश्वस्त छन ।
यति हुँदा हुँदै पनि आज म केहि शब्दहरु कोर्न वाध्य भएको छु । मुटु फुट्ला झैं हुन्छ, छाति चिरिन्छ । मन भित्र रहेको अमिलो राष्ट्रबादले भत्भति पोल्छ, अनि भन्न मन लाग्छ मेरो राष्ट्रको झन्डामा अंकित ‘चन्द्र सुर्य’ जस्ता ताराहरु ओझेलमा परेछन। मेरो राष्ट्रिय झन्डालाई पार्टिको झन्डाले थिचेछ, मिचेछ, छिमेकीले सिमाना अतिक्रमण गरे झैं । मलाई आफै भित्र पिडा हुन्छ, चिच्याउछु कराउछु निस्शब्द हुन्छु, मलाई कसैले सुन्दैन, बुझ्दैन, अनि म वेवारिसे हुन्छु, तिरस्किृत हुन्छु । म आफैमा मरेको छु, या जिउँदो छु आफैलाई थाहा छैन । मेरा यी पींडा र श्रदाले ओतप्रोत शब्दहरु उनै साइकले ‘पुस्कर शाह’ प्रति समर्पित छन्  । दुई पाङ्गग्रेमा नेपाल आमाको निशानी राष्ट्रिय झन्डालाई बाधेर, यात्राको क्रममा आउने हजारौ चुनौतीहरुलाई ह्याकुलाले छिचोल्दै, दु:ख, पिडा र थकानलाई सडकमा, मरुभूमिमा सिरानी बनाउँदै, भोक, तिर्खा,सोक र तापलाई सारथी बनाँउदै, कतिपय ठाँउमा झन्डैझन्डै मृत्यूको मुखमा पुगेर पनि संसारलाई साँढे पाँच फन्को लगाएर १५० वटा विभिन्न राष्ट्रहरुमा पाईला टेक्ने र १५० वटा राष्ट्रका झन्डाहरुलाई संसारको अग्लो सगरमाथाको चुचुरोमा फहराउने एक महान, असाधारण क्षमता भएको मान्छे आज बेवारिसे भएर आफ्नो पेट पाल्नको लागि यत्रतत्र भौतारिरहँदा कसको मन कुँडिदैन होला र ? यात्राको क्रममा मैले मसँगै ल्याएका अनगिन्ति मूल्यवान वस्तुहरु र मेरो साईकल जिम्मा लिउ, यो मेरो होइन राष्ट्रको सम्पत्ति हो भन्दा पनि राज्यले जिम्मा लिदैन, राज्यको सर्वोच्च पदमा विराजमान महामहिम ज्यूहरुलाई कुनै चासो नै छैन भन्दै आखाभरी आँसु निकाल्दै पिडा पोखेको देख्दा मेरो देशमा सरकार छ, कि छैन जस्तो आभास हुन्छ जोकोहिलाई पनि। आदरणीय मेयर ज्यू, राज्यले त पुस्कर शाहलाई चिनेन, बुझेन । उनी दोलखा जिल्ला, भिमेश्वर नगरपालिका वडा नम्वर – ७ मकैबारीमा जन्मेका मान्छे नै हुन । अनि खै त हामीले चाहि चिन्न सकेको उनलाई ? दोलखा जिल्ला त यसै पनि पर्यटकीय नगर हो । खै त हामीले उनको ज्ञान र अनुभवलाई प्रयोग गरेर भिमेश्वोर नगर, समग्र दोलखा जिल्लाको धार्मिक, प्राकृतिक र पर्यटनको क्षेत्रलाई अगाडी बढाउन पहल गर्न सकेको ? भिमेश्वर नगरपालिकामा किन हामी एउटा ‘विश्व साईकल पर्यटन अध्ययन केन्द्र’ स्थापना गर्न सक्दैनौ र ? किन हामी पुस्कर शाहले ल्याएको अनगिन्ती मुल्यवान वस्तुहरु, विश्व भ्रमण गरेको उनको साइकल जिम्मा लिएर एउटा संग्राहलय स्थापना गर्न सक्दैनौ ? नेपाल आमालाई संसारभरि चिनाउने व्यक्तिको किन सम्मान हुदैन यँहा?किन कदर हुँदैन यँहा ? राष्ट्रको झन्डा ११ वर्षसम्म बोकेर आफ्नो सम्पूर्ण उर्जाशिल समय र जवानी त्यागेर हिडेको बदलामा राज्यले सँजाय नै दिएको हो त उनलाई? देशद्रोही झै व्यवहार किन गरिदैछ उनलाई? फेरि पनि म स्मरण गराउछु म, आफ्नो घर आँगनमा रहेको राष्ट्रको गहनालाई भुल्दै छौ हामी । विभिन्न क्षेत्रहरुमा राष्ट्रको नाम राख्ने नेपाल आमाको सपुतलाई तिरस्कार गरिरहेको छौ हामी । आखिर कहिले सम्म ?????… यस्ता अनगिन्ति प्रश्नहरु तछाड मछाड गर्दै मेरो, हाम्रो मानसपटलमा छरपस्ट छन् ।
पुष्कर शाहले चाहेको भए २० वर्ष अघि अस्ट्रेलिया आउदा नै साइकल फालेर पासपोर्ट च्यातेर यतै बस्न सक्थे । एउटा मान्छेको जीवन समय २० बर्षको भनेको धेरै हो । यतिखेर पुष्कर शाह धनाढ्य बनि सकेको हुन्थे।तर उनले उनलाई डोर्याएर हिडने साइकलमा फहराईरहने चन्द्र र सुर्य अंकित झन्डालाइ कहिल्यै धोका दिएनन् । पुष्कर शाह दुइ छाक भोकको अभावले अहिले अस्ट्रेलियामा भाडा टल्काइ रहेका हैनन् । यो पनि बुझौं । मात्र उनि आफुले देखेको, भोगेको, सिकेको, जानेको संसारको सुन्दर कथाहरु नेपाली माटोमा उमार्न चाहन्छन। त्यो उनको अनुभवलाइ राज्यले डुलुवा अनुभव मात्र ठान्यो। एकदिन यस्तो भन्नु नपरोस ‘पुष्कर शाह दोलखा मकैबारीको, विश्व यात्रा गरेर, सगरमाथा चढेर पनि अहिले अस्ट्रेलियामा भाडा टल्काउदै छ।’ हामी चाहिं त्यसो भन्दै गर्दा जुठो भाडामा पसिना साट्दै पुस्कर दाइ भन्नेछन्  “यहि आएर भाडा नै माझ्नु थियो भने २० बर्ष अघि नै किन नमाझेको पुस्करे, थुईया ! नेपाली माटोमा जन्मेको एक थान जिन्दगी।”
संक्षेपमा, भिमेश्वर नगरपालिका र समग्र दोलखा जिल्लाको पर्यटनको क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचानको लागि पुस्कर शाहको ज्ञान र अनुभवलाई भरपुर उपयोग गरियोस्,उनलाई पनि एउटा स्थान दिइयोस, नेपाललाई विश्वभरि नै चिनाउने उनको एउटा सानो सपना पूरा होस ।
विष्णु कुमार थापा,
हाल अष्ट्रेलिया

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here