विकट गाउँको घरघरमा मीटर सहितको धारा, घण्टौँ लगाएर पानी बोक्ने दिनको अन्त्य

1458

चरिकोट, असोज १४ गते । दोलखाको कालिञ्चोक गाँउपालिका स्थित लापिलाङका वासिन्दाहरुको एक घण्टा लगाएर पानी बोक्नुपर्ने समस्या अन्त्य भएको छ ।
एक घण्टा समय लगाएर सदियौ देखि भीरमुनि सिमबाट पानी बोकेर जीविका धानेका वडा नम्बर नं–५ बन्देथलीका विकट थामी बस्तीमा ९६ वटा धारा बनेसंगै सो समस्याको अन्त्य भएको हो ।
‘एक घर एक धारा, करेसाबारी हराभरा’ भन्ने नाराका साथ खानेपानी,सरसफाइ तथा स्वच्छता उत्थानशील कार्यक्रम मार्फत विकट बस्तीको प्रत्येक घरमा धारा बनेपछि खानेपानी सम्बन्धि सबै समस्या हटेको कालिञ्चोक गाउँपालपका वडा नम्बर–५ का वडाध्यक्ष सुवास थामीले जानकारी दिनुभयो ।
उहाँकानुसार उक्त वस्तिमा वाटर एडको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल र एन्फो नेपालको समन्वयमा ३० हजार लिटरको पानी ट्याङ्की सहित एक घर एक धारा निर्माण गरिएको हो ।
जिल्लाको अति सीमान्तकृत थामी जातिका बस्तीमा पानीको हाहाकार देखिएपछि २०७४ साल पौष १७ गते भीरमुनी सिम खानेपानी योजना र आईतबारे खानेपानी योजना गरि दुई खानेपानी योजना अघि सारिएको थियो ।
जसअनुसार कुल ३१ लाख ५६ हजार नौँ सय पन्चानब्बे रुपैया लागतमा निर्माण भएको भीरमुनी सिम खानेपानी योजनामा २० हजार लिटरको ट्याङ्की र ६६ वटा धारा बनाईएको छ भने, २२ लाख ४६ हजार ३६ रुपैयाँ लागतमा निर्माण भएको आईतबारे खानेपानी योजनामा ४ हजार र ६ हजार गरि १० हजार लिटरको दुईवटा ट्याङ्की सहित ३० वटा धारा बनाईएको छ ।
त्यसैगरी अनावश्यक रुपमा पानी खेर नफालियोस र खानेपानी वितरणलाई सधैं व्यवस्थित बनाई राख्न ९६ वटै धारामा मिटर समेत जडान गरिएको छ ।
भीरमुनि सिम र आईतावारे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बनाई मीटरमा चढेअनुसार पानीको थोरै महशुल उठाइने र सोहि रकमले खानेपनी वितरणलाई सधैं व्यवस्थित बनाईराख्ने स्थानीय युवा अर्पण चाथोक थामीले बताउनुभयो ।
आईतवार कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले खानेपनीको उद्घाटन गरेसंगै सबैको घरको धारमा पानी आउन थालेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थामीले थामी बस्तीका सबैलाई सरसफाइमा ध्यान दिन भन्नुभयो ।
उहाँले पानीको समस्याले सरसफाइमा ध्यान नदिदा विभिन्न स्वस्थ्य सम्बन्धि रोग लागेकाले अब उक्त घट्ना नदोर्होयाउन सबैलाई अनुरोध गर्नुभयो ।
उक्त खानेपानी आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक, जिल्ला समन्वय सदस्य मुरारी शिवाकोटी, सामुदायिक विकास मञ्च नेपाल दोलखाका अध्यक्ष राजु थापा, कोषाध्यक्ष राजन श्रेष्ठ, निर्देशक प्रेम अधिकारी, गैरसरकारी महासंघ दोलखाका सचिव दिल बहादुर केसी लगाएतको उपस्थिति थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here