दुई वर्षमा बन्नुपर्ने सिङ्गटी–लामोसाँघु प्रसारण लाईन ८ वर्षमा नि बनेन:उत्पादित विद्युत खेर

441

दोलखा । जलस्रोतमा धनी जिल्ला दोलखामा विगत केहि वर्षदेखि जलविद्युत आयोजना निर्माणले गति लिँदै गएपनि प्रसारण लाइन सो अनुपातमा निर्माण हुन सकेको छैन् ।
पर्याप्त प्रसारण लाइन बन्न नसक्नु र बन्दै गरेको एकाध आयोजनामा समेत ठेकेदार कम्पनीले लापरवाही गर्दै ढिला सुस्ती गर्न थालेपछि उत्पादित विद्युत खेर जानुका साथै ओभर लोडका कारण जिल्लामा छिनछिनमा विद्युत कट्ने समस्या बढ्दै गएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतका लागि लक्षित गरी नेपाल विद्युत प्राधिकरणले बनाउन लागिएको सिङ्गटी–लामोसाँघु १३२÷३३ को सवस्टेशन सहित १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको ढिला सुस्तीले सो समस्या देखा परेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख अमृत बावु अधिकारीले जानकारी दिनुभयो ।
दुई वर्षमा पूरा गर्ने गरी सन् २०१० अक्टोबरमा प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघु सम्म ४० किलोमिटर लामो प्रसारण लाइन निर्माणमा एक सय २५ वटा टावर निर्माण गर्नुपर्ने छ ।
तर हालसम्म टावर ठड्याउन ६७ वटाको फाउण्डेसन तयार भएको आयोजनले जनाएको छ भने १० वटा जति फाउन्डेसनको काम भईरहेको छ ।
सिंगटी र लामोसाँघुमा दुई ठाउमै बनाउनुपर्ने सवस्टेसनको काम भने फाउन्डेसन तथा एङकर बोल्ट गरि लगभग ७० प्रतिशत जति सकेको आयोजनाले जनाएको छ ।
तर जग्गा अधिग्रहण देखि मुआब्जा वितरण लगायत काम समेत गर्नुपर्ने भएकोले मुख्य चुनौतीको रुपमा रहेको प्रसारण लाइन निर्माणमा भने खासै प्रगति भएको देखिदैन ।
प्रसारण लाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै विगत देखिनै काममा ढिलाइ गर्दै आएको छ ।
जस्ले गर्दा सिप्रिङ खोलाबाट उत्पादित विद्युतलाई सिंगटी सवस्टेशनमा व्यवस्थापन गर्न नसक्दा उत्पादित विद्युत खेर गइरहेको मात्रै नभई जिल्लामा विद्युत कट्ने समस्या समेत बढ्दो छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दोलखाका अनुसार हाल सिप्रिङमा उत्पादित विद्युतलाई रामेछापको मनथली र दोलखाको गोगर देखि सिन्धुपाल्चोकको लामोसाँघुसम्मको १४ (२३९ एम्पियर ) मेघावाट बराबरको ट्रान्समिस नेटवर्किङ लाईनमा जबर्जस्ती जोड्दा बिद्युत कट्ने देखि खेरा जाने समस्या बढ्दो छ ।
रामेछापको गर्जाङ्ग हाईड्रो पावर सहित दोलखाको सिप्रीङ, चर्नावती, कुथली, बोजेनी र द्रोनाञ्चल गरि ६ वटा हाईड्रो पावरबाट उत्पादिक कुल २०.४३ मेघावाट विद्युतले १४ मेघावाट वरावरको क्षमता भएको प्रसाण लाईनमा दैनिक घण्टै पिच्छे क्षति पुर्याए पनि निर्माणाधीन सिंगटी सवस्टेशन सहितको प्रसारण लाइनलाई समयमै सम्पन्न गराउन कहिँ कतैबाट पहल भएको छैन् ।
आधा दर्जन आयोजनाको विद्युत खेर जादै
प्रसारण लाइन नबन्दा निर्माणको अन्तिम चरणमा रहेका आयोजनाबाट पनि विद्युत् खेर जाने सम्भावना देखिन्छ । खासगरी ३० मेगावाटको खानीखोला, ४०मेगावाटको खानीखोला–१, २५ मेगावाटको सिँगटीखोला, २४.१ मेगावाटको खारेखोला, ११ मेगावाटको तल्लो खारेखोला, ५ मेगावाटको घट्टेखोलाबाट डेढ वर्ष भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउँदैछन् । त्यो समयभित्र प्रसारण लाइन नबनेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने मात्रै नभई जलविद्युत आयोजनालाई विद्युत प्राधिकरणले उल्टै क्षेतिपुर्ती वापतको रकम समेत दिनुपर्ने हुन्छ ।
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलका अनुसार विद्युत प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सवस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा ठेक्का सम्झौता भएको हो ।
तर कम्पनीले सवस्टेशनको ७० प्रतिशत काम गरेको र प्रसारण लाइनको खासै काम हुन नसकेको जलविद्युत    प्ररवर्द्धकहरुको गुनासो छ ।
समयमा काम पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोड्ने प्रक्रियामा समेत गएको थियो । तर निजी क्षेत्रका अयोजनाका प्ररवर्द्धकहरुले नै नयाँ ठेक्का लगाउँदा झन लामो प्रक्रिया हुने हुँदा त्यसैलाई म्याद थप गर्न दबाब दिएका थिए ।
म्याद थप गरेर निर्माणाधीन जलविद्युत आयोजनाका प्ररवर्द्धकहरु नै त्यसको काम ३ वर्ष अघिदेखि गरेपनि कामले खासै लिन सकेको छैन ।
आयोजना प्रमुख ढुङ्गेलले भने आउँदो माघसम्ममा आयोजनाको काम पूरा हुने दाबी गर्नुभयो । उहाँले ठेकेदारले कामको गति बढाउने प्रतिबद्धता गरेकाले दसैंपछि टावर उठाएर तार तान्ने काम सुरु हुने बतनउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here