दोलखा जिल्ला फुटबल संघले ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने

625

चरिकोट। फुटबल खेलको आधारभूत तहदेखि विकास गर्न विश्व फुटबलको सर्वोच्चको संस्था फिफाले जारी गरेको कार्यक्रम अनुसार ग्रासरुट कार्यक्रम दोलखा जिल्लामा पनि सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल संघले दोलखा जिल्लालाई कार्यक्रममा छनोट गरेसँगै जिल्लामा पनि यो कार्यक्रमको तयारी भइरहेको संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
ग्रासरुट कार्यक्रममा ७ देखि १३ वर्षका बालबालिकाहरुलाई फुटबल खेलमा सहभागी गराइनेछ । फ्रिस्टाइल र बिना कुनै निर्देशन सहभागीहरुलाई फुटबल खेलप्रति रुचि बढाउनुनै कार्यक्रमको उद्देश्य रहको छ ।
यसैबीच दोलखा जिल्ला फुटबल संघले उक्त कार्यक्रमको लागि ६ वटा विद्यालय छनोट भएको जनाएको छ । जिल्लाको फुटबल गतिविधिमा संलग्न विद्यालयहरुलाई प्राथमिकतामा राखी छनोट गरिएको संघले बताएको छ । “जिल्लामा रहेका सबै विद्यालयलाई पत्रचार गरी एक कार्यक्रम बीच जानकारी गराइएको थियो । एन्फाको प्रावधानलाई ख्यालमा राखी ६ वटा मात्र विद्यालयलाई छनोट गर्न सकियो । अन्य विद्यालयहरुलाई पनि संघको सहयोग रहनेछ ।”, संघका महासचिव कौरव पाण्डेले बताए ।
छनोट हुने विद्यालयहरुमा त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोट, अल्पाइन पब्लिक स्कुल चरिकोट, द राइजिङ हिम्स एकेडेमी चरिकोट, माउण्ट भ्याली एकेडेमी चरिकोट, शहिद स्मारक स्मृति मावि जिरी र सुर्के मावि खरिढुङ्गा रहेका छन् ।
ग्रासरुट कार्यक्रमले साना उमेर समूहका बालबालिकालाई फुटबल खेलमा आबद्ध हुन प्रेरणा दिनेछ । ठूला उमेरका खेलाडीले पनि एकै खेल मैदानमा खेल्नुपर्ने र साना खेलाडीलाई खेल्न समेत गार्हो हुने अवस्थालाई चिर्न यो कार्यक्रमले सहयोग पुर्याउने विश्वास संघका उपाध्यक्ष राजेश थापाले बताउनुभयो ।
भदौ २७ गतेका दिन देशभरका ४५ वटा जिल्लामा कार्यक्रमको भव्य समारोहबीच एकै समयमा सञ्चालन हुनेछ । छनोट भएका विद्यालयहरुले एन्फाले जारी गरेको मापदण्ड पुरा गर्नुपर्नेछ । त्यस्तै, संघले उक्त विद्यालयहरुलाई ग्रासरुट कार्यक्रम अन्तर्गतका खेल सामाग्रीहरु उपलब्ध गराउनेछ । यस कार्यक्रमको अनुगमन जिल्ला तथा केन्द्रीय तहबाट हुनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रादेशिक तथा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समावेश गराइने व्यहोरा संघका सदस्य सौगात थापाले जानकारी गराए । छनोट विद्यालयहरुले ग्रासरुट कार्यक्रमले बालबालिकाहरुलाई फुटबल खेल तर्फ थप आकर्षित गर्ने र मनोबल थप उच्च गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् ।
ग्रासरुट कार्यक्रम अन्तरगत बाल खेलाडीहरुलाइ चरिकोट टुडिखेलमा बिहान ६ः३० देखि ८ः०० बजेसम्म ट्रेनिङ भैरहेको जानकारी संघले दिएको छ । सबै जनालाई यस कार्यक्रममा सहभागी तथा सहयोग गर्नको लागि संघले आह्वान गरेको छ । उक्त कार्यक्रमको लागि जिल्ला संयोजक महासचिव कौरव पाण्डे रहनेछन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here