सुपर एक्सप्रेस बसको ठगी धन्दा सुरु : यात्रुहरू ठगिने क्रम बढ्दो

3150

चरिकोट। दोलखा जिल्लाको विभिन्न स्थानबाट राजधानी काठमाडौंसम्म चल्ने यात्रुबाहक सवारीले यात्रु ठगिएको खुल्न आएको छ।
लामोसाँगु जिरी सडक हुदै अरनिको राजमार्गमा चल्ने सुपर एक्सप्रेस बसले यात्रुहरूलाई व्यापक रुपमा ठगिएको खुल्न आएको हो।
अत्याधुनिक डिल्ली सिट सहित यात्रुहरूलाई आरामदायी र सुविधाजनक तरिकाले यात्र गराउने शर्तमा केही वर्ष अघि सञ्चालनमा आएको उक्त एक्सप्रेसले यात्रुलाई सेवा सुबिधाबाट वञ्चित गराई ठगिको धन्दामा लागेको स्थानीयको आरोप छ।
चरिकोटबाट काठमाडौंसम्म १ सय ३३ किलोमिटरको चार सय ६ रुपैयाँ भाडा लिएर बिचबिचमा मान्छे हाल्ने, ओराल्ने गरेर दिक्क वाक्कनै लगाएको चरिकोटका स्थानिय व्यपारी दिनेश थापा बताउनुहुन्छ।
लोकल बसले चरिकोट देखि काठमाडौं सम्मको भाड तिन सय २७ रुपैया मात्रै लिएर यात्रुलाई सेवा दिएपनि सुपरले आरामदायी र सुविधाको नाममा चर्को भाडा असुलेर यात्रु ठगिरहेको उहाँले बताउनुभयो ।
नियमअनुसार सुपर एक्सप्रेसलाई एकठाउँबाट अन्य ठाउँमा नपुगेसम्म लोकल टिपको शैलीमा यात्रु चढाउने र ओराल्ने अनुमति छैन, र बसमा ३० सिटमा मात्रै यात्रु हाल्न पाउने अनुमति छ ।
तर पछिल्लो समय लोकल टिपको जसरी मान्छे उभ्याएरै यात्रु अोसार्नमा सुपर एक्सप्रेस व्यस्त देखिन्छन् भन्नुहुन्छ क्षेत्रीय होटल संघ दोलखाका अध्यक्ष रञ्जित कुमार पाठक।
भाडा सुपर एक्सप्रेसको लिएर चरिकोट देखि भक्तपुरसम्म नै मान्छे चढाउने र ओराल्ने तरिकाले सुपर एक्सप्रेसमा यात्रु पुरै ठगिएको गुनासो उहाँले गर्नुभयो।
अध्यक्ष पाठकले भन्नुभयो “कि लोकल बस भनेर भाडा त्यहीँ अनुसारको लिनुपर्छ, नत्र सुपरको सेवा दिन्छु भनेपछि त्यहीँ अनुसारको सेवा दिनुपर्छ।”
अरनिको चरिकोट टिकट काउन्टरका अनुसार चरिकोटबाट ३ वटा, जिरीबाट ४ वटा र मेलुङबाट १ वटा सुपर गरि जम्मा ८ वटा सुपर एक्सप्रेस दैनिक काठमाडौं जाने र आउने गर्दछन।
यी सबै सुपर बसले यात्रुलाई सुविधा सम्पन्न सेवा दिन्छु भन्दै लोकल टिपको सेवा दिईरहेको पाइन्छ।
त्यसैगरी राजधानी काठमाडौंबाट जिल्लाका विभिन्न स्थानमा आउजाउ गर्ने लोकल यात्रुबाहक बस २१ वटा हुँदाहुँदै सुपर वसले चर्को भाडा असुलेर लोकल बसको काम गर्नुले पनि कानुनलाई हातमा लिएर यात्रु ठगिरहेको प्रष्ट हुन्छ।
२२ वर्ष देखि लोकल वस चलाउदै आएका चालक हिरा भण्डारीले बसले यात्रु नपाएको कारण त्यसो गरेको हुन सक्ने बताउनुभयो।
चरिकोट देखि खाडिचौरसम्मको बाटोकै कारण यात्रु घटेकाले सुपर बसले ठाउँठाउँमै यात्रु चढाउने र झार्ने गरेको हुन सक्ने दावि उहाँँले गर्नुभयो। जस्तोसुकै भएपनि  सुपरको नाममा यात्रु ठग्नु सरासर गलत भएको बताउदै चालक भण्डारीले सके सुपर एक्सप्रेस चलाउने नत्र लोकल नै चलाउन समेत अनुरोध गर्नुभयो।
ठगेकै भए कार्वाही हुन्छ
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले सुपर एक्सप्रेसको नाममा यात्रु ठगिएकै भए सम्बन्धित सवारीलाई तत्काल कार्वाही गर्ने बताउनुभयो।
उहाले मंगलबार देखिनै जिल्ला भरका ट्राफिक प्रहरी तथा जनपथ प्रहरीलाई सक्रिय रुपमा चेकजाँच गर्न लगाउने बताउनुभयो। जिरी, मैनपोखरी, तामाकोसी, किरातीछाप, चरिकोट, खरिढुङ्गा लगाएतका चेकपोस्टबाट सुपर बसको निगरानी गर्ने र सिट भन्दा बढि मान्छे राखिएको पाए तत्काल कार्वाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
“शुल्क बापतको सेवा सुविधा नदिई  सुपर एक्सप्रेस बसले ३० जना भन्दा बढि यात्रु राखिएको पाईएमा उपभोक्तको हकहित विरुद्धको कानुनमार्फत कार्बाहि हुन्छ।” उहाँले भन्नुभयो।
यात्रुहरूले सहज ढंगले आवागमन गर्न पाउनुपर्ने वताउदै प्रहरी नायव उपरीक्षक पाठकले जिरी हुदै यात्रु बोकेर तामाकोसी झारेर यात्रु अलपत्र पार्ने र मन्थलीबाट काठमाडौ जाने यात्रुबाहक बसलाई समेत कार्वाही गर्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here