भूमाफियाहरुलाई कालिञ्चोक मन्दिरको जग्गा नाप्न दिन्नौँ : अध्यक्ष थामी

4061

दोलखा। कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले  कालिञ्चोक भगवतीको जग्गा गुठीको नाममा नाप्न नदिने बताएको छ।
कालिञ्चोक सामुदायिक एफएमबाट प्रसारण हुने नागरिक बहस कार्यक्रममा बोल्ने क्रममा थामीले सो कुरा बताएका हुन।
कालिञ्चोक भगवती मन्दिरलाई गाउँपालिकाले नै संरक्षण सम्बर्द्धन र व्यवस्थापन गर्ने बताउदै थामीले कालिञ्चोकको जग्गा नापेर भूमाफियाहरुद्वारा प्रतिस्थापित गुठीको वनाइरहनुपर्ने अवस्था नरहेको बताउनुभयो।
” सयौंको संख्यामा लाउकेहरु परिचालन गरि ठुलाठालु व्यापारीले कालिञ्चोकको जग्गा कब्जा गरि कौडीको मोलमा पाँच तारे होटल देखि अन्य दुनियाँ बनाउन लागिपरेको छ।” उहाले भन्नुभयो, “यदि जबर्जस्ती नापेर जग्गा भुमाफियाहरु र तिनका लाउकेहरुलाई जिम्मा लगाउने काम भए आन्दोलनको आधी ल्याउनेछौ।”
कालिञ्चोक गाउँपालिकाको मुख्य आय श्रोतको रुपमा रहेको उक्त जग्गाजमिन मनपरि ढंगले ब्यापारीलाई जिम्मा लगाउन नमिल्ने उहाँको तर्क छ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मको ३० हजार जनताको भुमीलाई पैसाको चलखेलमा भु-माफियालाई जिम्मा लगाए त्यस्को सशक्त प्रतिकार गर्ने चेतावनी समेत अध्यक्ष थामीले दिनुभयो।
त्यसैगरि  जिल्ला वन कार्यलयमा प्रमुख गोविन्द प्रसाद दहाले २०३१ र ०३२ मै सबै खर्क राष्ट्रियकरण भएर सार्वजनिक जग्गा भइसकेको अवस्थामा १८८६ को लालमोहर अनुरुपको  ८ खर्क देखाउदै सार्वजनिक जग्गा गुठीको नाममा नापेर आफूअनुकूलको बनाउन खोज्ने नीयतमै खोट रहेको बताउनुभयो।  उक्त जग्गा दावी गर्ने कोहिकसैले पनि हालसम्म प्रमाण पुर्‍याउन नसकेकोले वन ऐनको परिभाषाले वन कै भएको ठोकुवा गर्नुभयो।
वन कै जग्गा भएकोले २०६७ साल अषाढ १३ गते झरेनी सामुदायिक वन उपभोक्त समितिलाई हस्तान्तरण गरिएको प्रष्ट पार्दै उहाँले जबरजस्ती तरिकाले गुठीको तैनाथीमा नापी गर्न खोजे वन कार्यलयकोतर्फबाट नापीमा कुनैपनि प्रतिनिधि नपठाउने जिकिर गर्नुभयो।
प्रत्येक शनिबार राती ८ बजे प्रसारण हुने नागरिक बहस कार्यक्रममा उपस्थित भएका कालिञ्चोक गाउँपालिकाका स्थानीय नेता नर बहादुर पाख्रीनले गुठीको नाममा जग्गा दिदाँ कालिञ्चोक भगवती नै व्यापारीले कब्जा गर्ने जिकिर गर्नुभयो।
उहाँले बाहिर कालिञ्चोक गुठी भनिए पनि भित्र शिवाकोटी गुठीले कालिञ्चोकको सार्वजनिक जग्गा कब्जा गरेर व्यापार गर्न खोजेको आरोप लगाउनुभयो। बेलाबेलामा जग्गा मिलेर नापेर आआफ्नो नाममा पारौं भन्नहरुलाई समेत लखेटिएको स्मरण गराउदै पाख्रिनले कालिञ्चोक दर्शन प्रालिले भित्रभित्रै  यस्तै नचाहिने काम गरे त्यस्लाई पनि लखेट्ने बताउनुभयो।
“कालिञ्चोक दर्शन प्रालिले वनसंग मिलेर अघि बढ्नुको विकल्प छैन।” उहाँले भन्नुभयो “भुमि भोगचलन गरेको कर स्थानीय सरकनरलाई तिर्दै व्यापार गर्न वस्ने हो। गुठी बन्ने प्रयास गरिए प्रतिकार हुन्छ।”
गुठी र वनको विवादलाई समाधान  गर्न कस्तो भुमिका हुन्छ ? भन्ने बहस कार्यक्रमका प्रस्तोता दिपक बस्नेतको प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी सागरमनी पाठकले कालिञ्चोक जग्गामा देखिएको समस्याको समाधान आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। कालिञ्चोक भगवतीको संरक्षण,सम्बर्द्धन पनि हुने र आम जनताको भावनालाई समेटेर अघि बढ्ने समेत उहाँले भन्नुभयो। कालिञ्चोक लगाएत अन्य सार्वजनिक ठाउँमा समेत जग्गा अतिक्रमण भएकोले त्यस्लाई समेत व्यवस्थापन गर्ने बताउनुभयो।
कालिञ्चोक गाउँपालिका वडा नम्बर –१ मा अवस्थित कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत भगवती दिदीबहिनी हुन भन्ने किम्बदन्ती रहेको छ ।
सदरमुकाम चरिकोटबाट उत्तर क्षेत्रमा अवस्थित कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमशृंङ्खला र मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।
विश्व धार्मिक हिन्दु संस्थानका सूचीमा उल्लेखित नेपालका विविध शक्ति पिठहरु मध्ये एक कालिञ्चोक भगवती माईको दर्शनका निम्ति भक्तजन देखि सुन्दर प्राकृतिक वातावरणमा रम्न प्रशस्तै आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने गर्दछ ।
यत्तिका समयसम्म वनकै जग्गामा रहेको प्रसिद्ध कालिञ्चोक क्षेत्रको जग्गालाई भीमेश्वर कालिञ्चोक त्रिपुरासुन्दरी गुठी व्यवस्थापन समितिको तैनाथीमा नाप्नको लागि भन्दै  गुठी संस्थानबाट ५,००,००० रुपैयाँ समेत आएको छ।
कालिञ्चोक भगवती गुठी व्यवस्थापन समितिले २०७१ साल भदौ ३१ गते तयार पारिएको प्रतिवेदनको आधारमा तत्कालिन भूमिसुधार मन्त्री विक्रम पाण्डेको पालामा कालिञ्चोक क्षेत्रको जग्गाको नाप नक्सा तयार पार्ने मन्त्री स्तरीय निर्णय भएको थियो ।
मन्त्रिस्तरीय निर्णय वमोजिम कालिञ्चोक क्षेत्रको नापी गरी नक्सा तयार पार्न सर्भेक्षक मुरारी त्रिपाठीको नेतृत्वमा ३ सदस्यीय टोली समेत गठन गरिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here