स्थानीय स्रोतसाधन परिचालनमा सामाजिक न्याय आवश्यक: मन्त्री पुन

286

चरिकोट । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री बर्षमान पुनले स्थानीय स्रोत साधनको परिचालन तथा व्यवस्थापन गर्दा सामाजिक न्यायको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखा जिल्लावासीलाई छुट्याइएको १० प्रतिशत शेयर वितरणको शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
बुधबार सदरमुकाम चरिकोटमा आयोजित समारोहमा उहाँले सामाजिक न्यायले स्थानीय स्रोत साधन व्यवस्थापनमा जनसहभागीता गराउने भएकोले हरेक आयोजनामा सुरक्षा र सतर्कता बढ्दै जाने धारणा राख्नुभएको छ ।
सामाजिक न्यायको अवधारणा अनुरुप बन्दै गरेको ४५६ मेगावाटको तामाकोसी जलविद्युत आयोजना देशकै उदाहरणीय आयोजना भएको बताउदै मन्त्री पुनले तामाकोसी आयोजनाले अन्य जलविद्युत आयजना निर्माणका लागि हौसला प्रदान गरेको भन्नुभयो ।
सामाजिक नयाँको अभावमा स्थानीय स्रोतसाधन परिचालनबाट स्थानीयको हैसियतमा पाउनुपर्ने हिस्सा नै नपाउने खतरा बढ्नुका साथै लगानीमैत्री समाज बन्नमा समेत चुनौती थपिने भएकोले पनि विकासमा सामाजिक न्यायको अवधारणा अपरिहार्य रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सबैलाई संगसंगै समृद्धिको बाटोमा हिडाउनुनै सामाजिक न्याय भएको बताउदै उहाँले पैसा र पहुँच हुनेले स्रोतसाधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्तिको अन्त्य समेत तामाकोसी आयोजनाले गरेको दावी गर्नुभयो ।
१ लाख मेगावाट भन्दा बढि बिद्युत उत्पादन हुन सक्ने नेपालमा तत्काललाई जनताकै लगानीमा ३ हजार मेघावाटका आयोजनाहरु सञ्चालन गर्ने योजना रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । जस्को लागि सरकारले १६ वटा जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको र लगभग ६ खर्व लगानीको अनुमान गरेको बताउनुभयो ।
“नेपालको पानीमा नेपाली जनताकै हक हुने भएकोले सामाजिक न्यायमा आधारित भई उत्कृष्ट नाफामुलक आयोजना सञ्चालन हुन्छ ।” उहाँले भन्नुभयो, “आर्थिक बिकासमा अन्य दुनियाँ भन्दा पछी परेको नेपालको समृद्धिका लागि विकास र सुशासन आवश्य रहेकोले पनि जलस्रोतलाई अघि सारेर बढ्नुपर्छ ।”
देशमा जे उपलब्ध छ त्यसैमा टेकेर अघि बढ्ने भएकोले तत्काललाई  जलस्रोत भएकोले सामाजिक न्यायका आधारमा त्यसैमा टेकेर विकासको बाटोमा बढ्नुपर्ने बताउदै मन्त्री पुनले जलस्रोतमा जनताले पुग्यो भन्ने गरि लगानीको बाताबरण बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो। सेयर सङ्कलन सम्बन्धि अभिमुखी कार्यक्रमको उद्घाटन गर्दै उहाँले तामाकोसी आयोजनलाई यही आर्थिक वर्ष भित्रै सकाउन लागिपर्ने समेत भन्नुभयो ।
जिल्ला समन्वय समिति दोलखाको आयोजना भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ, प्रदेश सभा सदस्य पशुपति चौलागाईं र विशाल खड्का, जिसस प्रमुख डबल पाण्डे, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएतले तामाकोसी आयोजना र शेयरको बारेमा आफ्ना धारणा राखेका छन्।
यसै बीच माथिल्लो तामाकोसी आयोजनाको लागि जिल्लावासीले पाउने एक करोड पाँच लाख ९० हजार कित्ता सेयरको लागि बुधवारबाट आवेदन खुल्ला गरेको छ । उक्त सेयरको लागि भदौ १४ गतेसम्म दोलखा जिल्लामा बिभिन्न बैङ्कहरुको १९ वटा सङ्कलन केन्द्र र काठमाण्डौँमा बस्ने दोलखालीहरुको लागि सनराईज बैङ्कको ११ वटा सङ्कलन केन्द्र निर्धारण गरिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here