लामोसाँघु -जिरी सडकमा पहिरो जान थालेपछि स्थानीयमा त्रास

846

दोलखा। दोलखा सदरमुकाम चरिकोट नजिकैको गाडी कुद्ने सडकमा अहिले भल बग्न थालेको छ ।
नालाबाट बग्नुपर्ने भल सडकबाट बग्न थालेपछि सडक पुरै खोलामा परिणत भएको त छनै भलको वाहक थेग्न नसकेर ठाँउठँमा पहिरो जाने क्रम पनि उत्तिकै बढेको छ।
वर्षायामकै पानी र भलका कारण अहिले भीमेश्वर नगरपालिका वडा नम्बर –३ स्थित बसपार्क देखि अनाथलयसम्मको सकडबाट सुविधा भन्दा पनि बढि डरत्रास थपिएको स्थानीय रविन चौलागाईंले बताउनुभयो।
रातीको झरीले सडकमा आएको भल घरमै छिरेको गुनासो उहाँ गर्नुहुन्छ । अहिले लगभग २ सय घरधुरी पहिरोको जोखिम रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको सडकको चौडा बढाउने जीम्मा पाएका ठेकेदार कम्पनीले सडक खनेर छोडेपछि अहिले यस्तो समस्या आएको हो ।
सिन्धुपाल्चोकको मुडेबाट दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर नेपालको शंकर माली÷सुनौला खिम्ती जेभीले सडक अलपत्र छोडेपछि सडक खण्ड कुरुप भएको छ ।
हिउँदमा धुलाम्य र बर्षायाममा हिलाम्मे मात्रै नभई भल बग्ने खहरे मै परिणत हुँदा स्थानीयहरुको रात त्रासले बितेको छ ।
२०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नुपर्ने भए पनि यो खण्डको काम अहिलेसम्म नसकिदा सवारी आवागमनमा पुरै असर पर्न गएको छ ।
ठूलो गाडी मुस्किलले चलेपनि सानोलाई धेरै समस्या हुने गरेको बलेरो चालक निमा लामा बताउनुहुन्छ।
भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा सडक कालोपत्रे र चौडा बनाउनुपर्ने आयोजना अहिले अलपत्र अवस्था रहेको छ ।
सडक पर्यवेक्षणको जिम्मेवारी पाएका टिएमएस नर्थ स्टार कन्सल्टेन्सीका प्रमुख राजाराम काफ्लेका अनुसार सडक बन्न अझै दुई बर्ष लाग्नेछ ।
उहाँकानुसार मुडे देखि चरिकोट सम्मको ३० किलोमिटर सडक खण्डमा करिव ९० हजार घनमिटर सववेेस र वेेस भएको खण्डमा मात्रै कालोपत्रे(पिच) सडक बन्छ । तर वेसका लागि आवश्यक पर्ने सामाग्री निर्माण गर्ने क्रसर अझै चल्न सकेको छैन । हालसम्म चलाउ सुरसार नगरेको क्रसर भदौ सम्ममा बनेपनि यस्ले दैनिक मुस्किलले २ सय घनमिटर माल कुट्छ । सो अनुपातमा माल कुट्दा ७ महिनामा करिब करिब ४० हजार घनमिटर माल तयार हुने दावी उहाँले गर्नुभयो ।
माल तयार पार्न आवश्यक कच्चा पदार्थ पनि २५ हजार घनमिटर भन्दा माथि जम्मा गर्न नसकिएको अवस्थामा ठेकेदार कम्पनीले पछिल्लोपटक थपिएको समयावधि ४ डिसेम्बर २०१८ मा काम सम्पन्न नसक्ने भन्नुहुन्छ कन्सलटेन्सीका प्रमुख न्यौपाने ।
मुडेदेखि चरिकोट सडक खण्डमा छेउ भित्ता कटिङक काम पुरै सकिएको छ । मेसिनरी तथा ग्याविन वाल लगभग सकेपनि नाला बनाउने काम लगभग १० किलोमिटर जति बाकि छ ।
अहिले १०–१५ जना कामदार सडक खण्डमा उतारेर ठेकेदार पक्षले त्यहीँ नाला बनाउने काम र पहिरो पन्छाउने काम गरिरहेको अवस्था छ ।
सडकमा काम भइरहेको छ जस्तो देखाउन जे जस्तो काम भईरहे पनि मुख्य काम सडक कालोपत्रे (पिच) को कामसंग सम्बन्धित कुनै काम भएको छैन् ।
भारतको एक्जीम बैंकको सहयोगमा निर्माण भइरहेको यो आयोजनामा सरकारले भुक्तानी दिन नसकिएको भन्ने कुरा पनि सरासर गलत हो भन्नुहुन्छ पर्यवेक्षण कन्सलटेन्सीका एआरई (असिस्टेन्ट रेसिडेन्ट ईन्जिनियर) अभिषेक प्रधान । कामको आधारमा युनिटको दरले रनिङ विलको रकम एक्जिम बैंकले तुरुन्तै उपलब्ध गराउने अवस्था छ ।
मुडे देखि चरिकोट सडक खण्डको काम पाएको ठेकेदार कम्पनीले अहिलेसम्मको कामको लगभग ४० प्रतिशत भुक्तानी समेत लिइसकेको छ ।
मुख्य काम कालोपत्रे गरि बाकी ६० प्रतिशत रकम भुक्तानीको लागि तयार हुनुपर्ने ठेकेदार कम्पनीको काम सुस्ताएकैले अहिलेसम्म पक्की सडक बन्न सकेको छैन । जस्को प्रत्येक्ष असर स्थानीय जनता र उनीहरुको आर्थिक क्रियाकलापमा पर्न गएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here